एउटा खुट्टा गुमेपछि बदलियो यी युवतीको जिन्दगानी

शरीरको कुनै पनि अङ्ग गुमाउँदा कसलाई पो पीडा नहोला र? त्यही पीडाबाट छट्पट्टिनु पर्‍यो, धादिङकी १८ वर्षीया सरिता मगरलाई पनि। आफूले नचाहँदा नचाहँदै सरिताले १२ वर्षमै आफ्नो खुट्टा गुमाउन पुगिन्।

खुट्टा गुमाउनुभन्दा पहिला र अहिलेको जीवनमा अलिकति पनि भिन्नता देख्दिनन् उनी। ‘डाक्टरले तिम्रो खुट्टा काट्नु पर्छ भन्दा म खुब रोएकी थिएँ’, उनले भनिन्।

तर अहिले वैशाखीले हिँडिरहँदा पनि अन्य व्यक्तिलाई उछिनेर आफू हिँड्न सक्छु भन्ने आत्मविश्वास उनमा छ। उनी हिँड्छिन् पनि। वैशाखीले हिँड्ने मात्र होइन्, एउटा खुट्टाको सहाराले नाच्छिन्। उनी नाच्दा सबै अचम्म पर्ने गर्छन् र त सबैले उनलाई एकै प्रश्न सोध्ने गर्छन्,‘एउटा खुट्टाले पनि यति राम्रो कसरी नाच्न सक्छौँ?’

उनी भन्छिन्,‘कुनै पनि काम गर्दा आफूमा विश्वास हुनु पर्छ, सबैभन्दा ठूलो कुरा लगन र मेहनत चाहिन्छ, सबै कुरा बिस्तारै हुँदै जान्छ।’

उनलाई नाच्न असाध्यै मन पर्छ। उनी भन्छिन्,‘म नाचेरै केही गर्न चाहन्छु, अहिले त भर्खर सिक्ने क्रममै छु।’ यो सबै साहस र आँट बाँया खुट्टा गुमाइसकेपछि मात्रै आएको उनले बताइन्।

११ वर्षकी हुँदासम्म उनको दैनिकी सामान्य तरिकाले चलिरहेको थियो। तर जब उनी १२ वर्षकी भइन्, उनको दैनिकीमा मात्रै होइन्, उनको जीवन अनि शरीरिक रुपमा समेत परिर्वतन आयो।

जुन परिस्थितिबाट उनी गुज्रनु पर्यो, त्यही परिस्थितीले उनलाई झनझन् परिपक्व बनायो। खुट्टै नभएका कारण उनले कहिल्लै पनि आफ्नाे भाग्यलाई दाेष गरेकी छैनन्। बरु उनी दिन प्रतिदिन आफूलाई आत्मनिभर बनाउँदै गएकी छिन्। आजभोलि उनी आफूलाई मन लागेको काम गर्न रुचाउँछिन्। जसमध्ये उनलाई सब भन्दा मन लाग्ने काम हाे नाँच्नु।

उनलाई खुब नाच्न मन लाग्छ। उनी नाच्छिन् पनि। उनलाई नाचेरै केही गर्नुपर्छ भन्ने लाग्छ। तर खुट्टा हुँदा उनी कहिल्यै नाचिनन्। जब उनले खुट्टा गुमाइन्, उनी दुवै खुट्टा हुँदा भन्दा पनि राम्रो नाच्न थालिन्।

उनले आफूलाई पहिला नाचगान तर्फ त्यति धेरै रुची नभएको बताइन्। नृत्यतर्फ उनको रुची त्यो बेलादेखि बस्यो, जब उनले गोर्खा पल्टन चलचित्र हेरिन्। चलचित्रका हरेक कुराले उनको मन लोभ्याइरहयो। अझै भन्ने हो भने त उनलाई चलचित्रका गीतमा नायिका नाचेको देख्दा मैले पनि अब यस्तै गर्नुपर्छ भन्ने सोच मनमा आयो। उनले मुसुक्क मुस्कुराउँदै भनिन,‘म हिरोइन त हुन सक्दिँन तर डान्स त गर्नसक्छु नि भनेर डान्स सिक्न थालेकी छु।’

उनले आफ्नो बिगतलाई सम्झिइन्,‘शायद मलाई रोग लागेर खुट्टा नकाटेको भए, मैले जीन्दगीलाई यति नजिकबाट बुझ्न पाउँने थिइँन।’

सरिता १० वर्षकी थिइन्। त्यस वर्षको चैते दसैँले उनको जीवनमा एकाएक परिर्वतन ल्यायो। उनको बाँया खुट्टामा केही गाँठा गुठी देखा पर्न थाले। सरिताले धादिङकाे गजुरीमा रहेकाे एक अस्पतालमा सामान्य उपचार गराइन्। अस्पतालले उनको चेकजाँच गरिएका रिपोर्ट समयमै दिन सकेन। एक महिनापछि उनलाई झनझन् गाह्रो हुँदै गयो। उनी उपचारका लागि कान्ति बाल अस्पताल पुगिन्। अस्पतालले उनलाई छेउमै रहेको टिचिङ् अस्पतालमा रेफर गर्‍याे।

टिचिङ्गमा उनको खुट्टामा आएका गाँठागुठीको शल्यक्रिया गरियो। शल्यक्रिया पश्चात मात्रै उनले आफूलाई हड्डिको क्यान्सर भएको थाहा पाइन्। डाक्टरले उनको खुट्टा काट्नु पर्ने बताए। तर त्यसबेला उनको परिवारले खुट्टा काट्नु भन्दा औषधि उपचार गर्ने निर्णय लियो। सरिताको परिवारले उनलाई टिचिङ्बाट चितवनको भरतपुर क्यान्सर अस्पतालमा लैजाने निधो गर्‍याे।

भरतपुर अस्पताल पुग्दा अस्पतालले पनि सरितालाई हड्डिको क्यान्सर नै भएको ठहर गर्‍याे। उनलाई औषधि दियो। औषधि लगाउँदा अनि खाइरहँदा उनको खुट्टामा केही पनि फरक देखिएन। औषधिको प्रयोग गर्न थालेको दुई वर्ष भइसकेको थियो। निको हुने छाँटकाँट देखिएन। उनीले खुट्टाको चेक फेरि गराइन्।

तर यो पटक भने भरतपुर अस्पतालका डाक्टरले सरितालाई औषधि लगाउन वा खानका लागि सल्लाह दिएनन्। उनीहरुले खुट्टा काट्नै पर्ने अवस्था पुगिसकेको बताए। अब भने केही सीप नलाग्ने भएपछि सरिता पनि विवश थिइन्। उनले खुट्टा गुमाउँदै थिइन्। तर उनले खुट्टा काटेर जिन्दगी सकिँदैन भनेर आफूले आफैलाई सम्झाइन्।

अन्तत: उनी खुट्टा काट्नका लागि राजी भइन्। भरतपुर असपतालले उनको शल्यक्रियाको लागि बनेपा अस्पतालमा रेफर गर्‍याे। उनले एउटा खुट्टा गुमाइन्। अब भने उनको जीवन पहिलाको तुलनामा बेग्लै हुन पुग्यो। हिँड्नका लागि उनीसँग खुट्टा थिएन। खुट्टाको साटो वैशाखी थियो उनको छेउमा। अब उनी त्यसैकाे साहारामा हिँड्नु पर्ने भयाे।

सुरुसुरुमा प्रयोग गर्न केही अप्ठ्यारो भएता पनि अहिले वैशाखी उनको सहयात्री बनेको छ।

अहिले उनी स्कूल जान थालेकी छिन्। रोगका कारण बिचमै रोक्नु परेको पढाइलाई निरन्तरता दिन सरिता चावहिलस्थित सुप्रिमेन्टल हाई स्कूलमा कक्षा आठमा पढ्दै छिन्।

संसारमा कयौँ मानिसहरु छन् जो हिँड्डुल समेत गर्न सक्दैनन्। यसको मतलब उनीहरुले जीवन जिउन छाडेका छन् भन्ने होइन्। उनीहरुले अन्य व्यक्ति सरह जीवन बिताइरहेका छन्। उनले भनिन्,‘मलाई त के नै भएको छ र? एउटा खुट्टा त नभएको हो नि! वैशाखी टेकेर अन्य व्यक्ति सरह हिँड्न सक्छु, आफ्नो सबै काम आफै गर्न सक्छु।’

सरिता पढ्नकै लागि काठमाडौँको चावहिलमा होस्टलमा बस्दै आएकी छिन्। वर्षमा एक पटक मात्रै घर (धादिङ) जाने गरेकी उनले भनिन्,‘म काठमाडाैँबाट एक्लै घर जान्छु। घर मात्रै होइन भरतपुर अस्पताल फलोअपका लागि पनि एक्लै जान्छु।’

उनी खुट्टा गुमाएर आफूलाई कुनै फरक नपरेको बताउँछिन्। सुरुसुरुमा साथीहरु हिँडेको देख्दा आफूलाई दु:ख लाग्ने गरेता पनि अहिले भने त्यस्तो कुराले मन नदुख्ने उनी बताउँछिन्, ‘अहिले मेरा साथीहरु भन्दा म छिटो हिँडिहाल्छु, मलाई केही पनि दुःख लाग्दैन।’

घरमा उनलाई सबैले माया गर्छन्। गाउँघर छरछिमेकले सन्चो बिसन्चो सोध्ने गर्छन्। तर गाउँका स–साना बालबालिकाले उनलाई जिस्काउने गरे पनि उनीहरुको कुरा मनमा लिने गर्दिनन्।

उनी घर जाँदा गाउँभरीका मानिसलाई आफ्नो नाँच देखाउँछिन्। नाचको धेरैले प्रशंसा गर्छन्। उनलाई फेरी पनि गाउँका मानिसहरुले सोध्ने गर्छन्,‘एउटा खुट्टाले पनि कसरी यस्तो राम्रो नाच्न सक्छौँ।’

सरिता आफ्नाे सपना पूरा गर्न चाहन्छिन्। त्यसका लागि सदैव कोशिस गरिरहने दृढता छ उनकाे।

क्यान्सर हुने बित्तिकै कोही पनि हताेत्साहित हुनुहुँदैन भन्ने उनलाई लाग्छ। उनले भनिन्,‘क्यान्सर लाग्यो, अब कहिल्यै पनि निको हुँदैन भन्ने सोच्नु हुँदैन। उपचार गर्‍याे भने निको पनि हुन्छ।’

उनलाई क्यान्सर भएको थाहा पाएपछि अब आफू धेरै बाँच्दिन भन्ने लागेको थियो। तर पनि उनले हरेस खाइनन्। यसको सम्पूर्ण श्रेय उनी आफ्नी आमालाई दिन्छिन्। उनको परिवारका कुनै पनि सदस्यले उनी बाँच्छिन् भनेर भनेन्। तर उनीकी आमाले उनलाई सधै निको हुन्छेस् भन्ने विश्वास दिलाईरहिन्। आमा भन्ने गर्थिन्,‘अरुको कुरा नसुन्, म तलाई उपचार गराएर निको बनाउँछु।’

शायद आमाकाे त्यही विश्वासले जिवित राखेको भान हुन्छ सरितालाई। बिरामी भएका बेला त्यो साहस अनि हौसला प्रदान गर्ने आमा उनको जीवनमा नभएकाे भए त सरितालाई यत्रो आँट अहिले कहाँबाट आउँदो हाे? उनले भनिन्,‘मेरो जीन्दगीमा मेरी मम्मी नभएको भए….मैले अर्को जन्म लिन पाउने थिइन होला।’

सरिताले उपचारका दिन सम्झिदै भनिन्,‘केमो लगाउँदा म एकदमै सिरियस भएकी थिए रे। मलाई डाक्टरले बाँच्न गाह्रो छ भन्नु भएको थियो। तर अहिले फलोअपमा जाँदा म सधैँ डाक्टरलाई भट्ने गर्छु। मलाई देखेर उहाँ दङ्ग पर्नुहुन्छ।’ उनले फेरि थपिन् ‘म फलोअपमा अस्पताल जाँदा भेटेर उहाँलाई भन्ने गर्छु, डाक्टरसाब म बाँचे नि है!’

उनलाई डाक्टरले मात्र होइन घरमा भेट्न आउने कसैले पनि बाँच्छे हाेला भनेर साेचेका थिएनन्। बारम्बार मर्ने कुरा सुन्दा उनलाई कता–कता लाग्ने गथ्र्यो,‘के म साँच्चै नै मर्छु होला त? सबैले मलाई किन यस्तो भन्छन् होला?’

उनले यस्तो कुरा मनमा खेलाइरहँदा आमाले उनलाई छाेरी तँ निको हुन्छेस् भन्ने विश्वास दिलाउँथिन्। आमाको यस्तो विश्वास देखेर सरिताको मनमा फेरि आशाका किरण देखिन्थ्याे। झिनो भएता पनि मनमा बाँच्ने आशा पलाउँथ्यो।

सरिताकाे त्यही झिनो आशा सत्य साबित भएको छ। र त उनी अहिले निको भएर हिडिरहँदा उनलाई सबैले अर्को जन्म लिएर आएको भन्ने गरेको भन्ने गर्छन्। उनी मुस्कुराउँदै बाेलिन्,‘मलाई पनि त्यस्तै लाग्छ, मैले अर्को जन्म पाएकी हुँ।’