सिंगापुरबाट फर्किए लगत्तै ओलीले भने : पहिले अनौपचारिक छलफल गर्नु पर्छ

दुई सातापछि बल्ल तय भएको नेकपा सचिवालय बैठक फेरि स्थगित

फाइल तस्बिर

काठमाडौँ– पार्टी विभागको नेतृत्व छनौट लगायत पार्टी एकताका बाँकी काम टुंग्याउने गरी भोलि अर्थात साउन २८ गते तोकिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालयको बैठक फेरि स्थागित भएको छ।

१५ दिनको प्रतीक्षापछि बैठक हुने आशमा केन्द्रीय सचिवालय सदस्यहरु रहेका बेला सोमबार मात्रै सिंगापुरमा उपचार गरि ९ दिन पछि फर्किएका पार्टीका एक अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अनौपचारिक छलफल गर्न चाहेपछि सचिवालय बैठक बुधबार तीन बजे डाक्ने जानकारी सचिवालय सदस्यहरुलाई साँझ दिइएको छ।

यही साउन १३ गते बिना निष्कर्ष टुंगिएको बैठकमा खासगरी पार्टीको स्कुल विभाग उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिने कि प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिने भन्नेमा विवादित बनेको विषयमा ओली प्रवेश गर्न चाहेका थिएनन्।

तर उक्त बैठकमा सचिवालयका गृहमन्त्री समेत रहेका सचिवलय सदस्य रामबहादुर थापा बादलले विवाद गरिरहनु भन्दा पार्टीका कुनै पनि विभाग सचिवालय सदस्यले नलिनु उपयुक्त हुने भन्दै अघि सारेको धारणलाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेको सूचनाहरु बाहिरिएका थिए।

तर पार्टी नेतृत्व अर्थात दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले नै स्कुल विभागको नेतृत्वमा पोखरेल या श्रेष्ठ मध्ये एकलाई राख्न नसक्दा अन्य एकताका काम पनि ओझेलमा परेको उच्च स्रोतको दाबी छ।

स्रोतका अनुसार यो मामिलामा असफल भए यी दुई अध्यक्षले आफू मातहतनै स्कुल विभाग राख्ने मनस्थिति बनाएको र त्यो झन विवादित बन्ने निष्कर्षमा पार्टीका कतिपय प्रभावशाली नेताहरु पुगेको छन्।

पार्टीका ३३ वटा विभागको नेतृत्व चयनको प्रयास यी ओली र दाहालले असारको अन्तिम साता यता गरेपनि त्यसमा असफल भएका बेला ओली उपचारका लागि सिंगापुर हानिएका थिए भने दाहाल सपरिवार दुवईतर्फ ढुल्न निस्किएका थिए ।

पूर्व एमाले र माओवादीबीच एकता भएको झण्डै १३ महिना पुगिसक्दा पनि एकता प्रक्रियाले पूर्णता नपाउँदा पार्टीको तल्लो तह निराश मात्रै होइन, निस्कृय अवस्थामा बस्न बाध्य छ।

त्यसले गर्दा स्थानीय, प्रदेश र संघ तहमा विकास तथा सरकारी गतिविधिबारे मुल्याङनबाट आफूहरु बञ्चित रहेको नेकपाका स्थानीय नेताहरुले गुनासो गर्दै आएका छन्।

नेकपाको विभागसँगै, महत्वपूर्ण मानिएको पोलिटव्युरो गठन, विभिन्न आयोगहरुको गठन लगायतका काम बाँकी नै छन्।

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू