मुख्यमन्त्री कपकाे अनियमितताकाे विषय सार्वजनिक लेखा समितिमा पुग्याे

मोरङ – मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा भएकाे आर्थिक अनियमितता तथा तेह्रथुमको टोली घटुवा भएको विषयमा सार्वजनिक लेखा समिति प्रदेश–एकले विज्ञसँग छलफल गरेको छ।

सोमबार विराटनगरस्थित समितिको कार्यालयमा विज्ञका रुपमा पूर्व प्रशिक्षक सन्तोष बानियाँ र फिफाका पूर्वसहायक रेफ्री किरण गिरीसँग प्रतियोगिताबारे जानकारी लिइएको हो।

समितिका सभापति शिवनारायण सिंह गनगाईले फुटबल जाने बुझेको र लामो समयदेखि फुटबलमा सक्रिय रहेको हुनाले दुवै जनालाई विज्ञका रुपमा समितिले बोलाएको बताएका छन्।

सभापति सिंहले दुवै विज्ञसँग प्रतियोगिता आयोजनाको नियमावलीको विषयमा कुरा भएको स्पस्ट पारे। उनले भने, ‘यस छलफलमा तेह्रथुम, सुनसरी र धनकुटाबीच भएको फुटबल खेलको विषयमा टोली बाहिरिएकाे अवस्थाको बारेमा जानकारी लियौँ।’

छानविनका क्रममा गिरीले उपलब्ध कागजातका आधारमा आफूले केही बोल्न नमिल्ने बताएका थिए। उनले भने, ‘अंकका आधारमा तेह्रथुम बाहिरिएको हो होइन त्यसबारे रिपोर्ट हेर्न आवश्यक हुन्छ। सो रिपोर्ट उपलब्ध नहुँदा मैले यसै भन्न सक्ने अवस्था छैन। त्यसैले पहिले फिल्ड रिपोर्ट हेर्न पाएपछि कुरा अघि बढाउन सकिन्छ।’

यद्यपि प्रतियोगिता आयोजक पक्षले हालसम्म धरानमा भएको खेलको पूर्ण विवरण समिति समक्ष बुझाइसकेको छैन। सभापति गनगाईले भने, ‘समितिले माग गरे बमोजिम खेल विवरण आयोजक पक्षले बुझाएको छैन। तीन–चारदिनको समय उपलब्ध गराएका छौँ। त्यस भित्र समितिले माग गरेका सबै कागजपत्रसहित आयोजक पक्ष उपस्थित हुनेछन्।’

गत १७ गते समितिले मुख्यमन्त्री कपका आयोजक किरण राईलाई रकम भौचर, खेल विवरण उपलब्ध गराउन माग गरेको थियो।

समितिका सदस्य कुशल लिम्बुका अनुसार प्रतियोगितामा भएको आर्थिक पाटोकाे विषय लेखा समिति र प्राविधिक विषय सामाजिक विकास समितिले हेर्नेछ।

प्रतियोगिता आयोजकले लेखा समितिलाई मागे बमोजिम कागजपत्र यसअघि नै उपलब्ध गराएको र पत्रमार्फत माग गरेको विल, भौचर तत्काल बुझाउने जनाएको छ। साउन १७ गते छानबिनका क्रममा लेखा समिति समक्ष प्रतियोगिता आयोजनाका क्रममा एक लाख ७९ हजार रुपैयाँ रकम अपुग भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजक पक्षले दाबी गरेको थियो।

विज्ञका रुपमा समितिमा बोलाइएका दुवै जना विराटनगरका स्थायीबासिन्दा हुन्। लामो समय फुटबलमा सक्रिय गिरी पछिल्लोसमय निश्क्रिय सरह रहेका छन्। एघार महिना अघि गिरी थाइल्याण्ड रेफ्री कोर्षबाट विवादमा तानिएका थिए।

त्यसैगरि अर्का विज्ञका रुपमा उपस्थित बानियाँ मुख्यमन्त्री कपकोे विराटनगर खेलस्थलका लागि संयोजक रहेका थिए। मुख्यमन्त्री कपको दोश्रो चरणको खेल विराटनगरस्थित सहिद मैदानमा हुने कार्यक्रम तय थियो।

यद्यपि वर्षाका कारण आयोजकले खेल धरान सारेका थिए। बानियाँ विराट गोल्डकप ट्रष्टका अध्यक्ष पनि हुन्।

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्