बालिकालाई भारत पुर्‍याएर ‘धन्दा’मा स‌ंलग्न गराएकाे आराेपमा एक महिला पक्राउ

साङ्केतिक तस्बिर

मोरङ – मोरङ सुनवर्षी नगरपालिकामा एक महिलालाई मानव ओसारपोसार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रङ्गेलीले सुनवर्षीमा बसोबास गर्दै आएकी ४२ वर्षिया गीता ऋषिदेवलाई एक बालिकालाई भारतको पञ्जाव पुर्‍याएर अवैध काममा लगाएको आरोपमा पक्राउ गरेको हो।

विज्ञापन

भारतमा लुकेर बस्दै आएकी ऋषिदेवलाई गाँउ आएको मौकामा प्रहरीले पक्राउ गरेको कार्यालयका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए।

प्रहरीका अनुसार २०७५ फागुन २ गते घरबाट हराएकी १५ वर्षिया बालिकालाई जवरजस्ती भारत पुर्‍याउने काममा नौ जनाको संलग्नता देखिएको छ।

साढे ५ महिनापछि बालिकालाई भारतीय र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेर नेपाल ल्याइएको दाहालले जानकारी दिए।

यो घटनामा गीतासहित बालिकालाई भारत पुर्‍याउन सुनवर्षीकै ४३ वर्षीय विजली ऋषिदेव, ३५ वर्षीय दीपचन्द ऋषिदेव, ३५ वर्षीय भागो ऋषिदेव, ३२ वर्षीय श्रीचन्द ऋषिदेव, २५ वर्षीय रोहित ऋषिदेव, २१ वर्षीय कैलाश ऋषिदेव, २० वर्षीय गोविन्द ऋषिदेव र २० वर्षीय सागर ऋषिदेवको संलग्न रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकी महिला विरुद्ध सोमबार अपहरण, शरीर बन्धक तथा जवरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको दाहालको भनाइ छ।

बालिकाले आफूलाई जवरजस्ती भारतको पञ्जाव पुर्‍याएर बन्धक बनाएर यौन धन्दामा लगाएको बताएपछि घटनामा संलग्न विरुद्ध अभिभावकले किटानी जाहेरी दिएका छन्।

जाहेरी दिएपछि गीता पक्राउ परे पनि अन्य आठ जना भने भारततिर फरार रहेको दाहालको भनाइ छ ।

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्