१६ वर्षे विवाहको प्रतिकारमा उत्रिए किशोरीहरु

नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर १६ वर्षमा छोरीको विवाह गर्न पाउनु पर्छ भन्नेहरुलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग मागसहित पत्रकार सम्‍मेलनमार्फत प्रतिवादमा उत्रिएका किशोरीहरु। तस्बिर-कुमार श्रेष्ठ/देश सञ्‍चार

नेपालगञ्‍ज-केही महिनादेखि मधेसी समुदायका सानो समूहका महिलाले १६ वर्षमा विवाह गर्न पाउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र नेपालगञ्ज उपमहानगरपालिका कार्यालय घेराउ गरिरहेपछि किशोरीहरु त्यसको प्रतिवादमा उत्रिएका छन्।

जिल्लाका आठ वटै स्थानीय तहमा गठन गरिएका किशोरी क्लवका प्रतिनिधिले नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर १६ वर्षमा छोरीको विवाह गर्न पाउनु पर्छ भन्नेहरुलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन्।

‘नेपालको कानूनले २० वर्षलाई विवाह गर्ने उमेर तोकेको छ।केही व्यक्तिले त्यसलाई चुनौती दिदै १६ वर्षमा विवाह गर्न पाउनु पर्छ भनेर जिल्ला प्रशासन कार्यालय र नेपालगञ्ज उपमहानगरपालिका घेराउ गर्दा स्थानीय प्रशासनले के हेरेर बसेको छ ? जिल्लाका आठ स्थानीय तहका १२ वटा किशोरी क्लवका अध्यक्षले पत्रकार सम्मेलनमा एक स्वरमा भने, त्यस्तालाई कारबाही गर्न हामी माग गर्दछौं।’

गाउँगाउँमा गठन गरिएका किशोरी क्लवहरुले बालविवाहविरुद्ध चेतना जगाउने काम गरिरहेका छन्। कतिपय ठाउँमा हुन थालेको बालविवाह रोकेका छन् । यद्यपि, केही किशोरी क्लवमा लागेका आफैले बालविवाह गरेका पनि छन्।

एकता किशोरी क्लव, बैजनाथ गाउँपालिकाकी अध्यक्ष अनु रावतले आफूहरु बालविवाह नहोस् भनेर लागि परेको बताइन्।लगनशील किशोरी क्लव, खजुराकी कोषाध्यक्ष चेतना क्षेत्रीले नेपालमा अझै ३७ प्रतिशत बालविवाह रहेको जानकारी दिदै त्यसलाई हटाउनु पर्नेमा उल्टै केही समूहले बालविवाह गर्न पाउनु पर्ने माग राखेर कानूनलाई चुनौती दिएको बताइन्।

उनले ५१ प्रतिशत महिला रहेको नेपालमा बालविवाह गर्न पाउनु पर्छ भन्नेहरुले आधा जनसंख्यालाई पछाडी धकेल्न खोजेको दावी गरिन्।सिर्जनशील किशोरी क्लव, जानकीकी सदस्य सिर्जना बुढामगर, उज्वल किशोरी क्लव, नेपालगञ्जकी उपाध्यक्ष ज्योती विकलगायतले बालविवाह गर्न पाउनु पर्छ भन्नेलाई प्रहरीले थुन्नु पर्ने बताए।

किशोरीहरुले गाउँगाउँमा बालविवाहविरुद्ध चेतनामूलक कार्यक्रमहरु गरिरहेका छन्। विभिन्‍न संघ संस्थाले किशोरीहरुलाई सघाइरहेका छन्।

नेपालगञ्जमा केही मधेसी समुदायका महिलाले १६ वर्षमा छोरीको विवाह गर्न पाउनु पर्छ भनेर माग गरिरहेका बेलामा केही सांसदले प्रतिनिधि सभामा पनि १८ वर्षमा विवाह गर्न पाउनु पर्ने आवाज उठाएका छन्। नेपालको कानूनले केटा र केटी दुवैको विवाह गर्ने उमेर २० वर्ष तोकेको छ।

साउन २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्