ब्लग

सोमबारको रात्रि, बोलबमको ‘महायात्री’ !

सुन्दरीजलमा जल भर्न भेला भएका भक्तजनहरु। साउनको अन्तिम सोमबार सुन्दरीजलबाट जल बोकेर पशुपतिनाथमा चढाउनेको भीड लागेको थियो। तस्बिर-देश सञ्‍चार

एकाएक मनमा बोलम जाने सोच आयो। तर जाने कसरी ? जीवनमा धेरै पटक सुनेको, टीभीमा फिल्ममा देखेको तर आफू प्रत्‍यक्ष रुपमा भूक्तभोगी भने नभएकाले साउन महिना बोलबम जाने सोचले मेरो मानसपटलमा डेरा जमायो।

मैले बार सम्झिएँ। हैट भोलि नै पो सोमबार ! मैले हतारमै भने, ‘दाजु भोलि नै सोमबार हो।जाने कसरी नि ?’ मैले मनमनै सूर कसेँ बोलबम जाने।
तर रुम मेट फेरि हाँस्दै भन्यो ‘ क्‍या यार दाजु पनि ! जून सोमबार पनि बोलबम हुन्छ र? की फर्स्ट की लास्ट भन्छन्।’

विज्ञापन

उसलाई साउन सुरु हुने बित्तिक्कै सुनाएको थिए ‘दाजु म त यसपाली बोलमबम जान्छु हौ।’ उसले आँखाको इसारामा मतिर हेर्दै भने,’दाजु धर्मकर्म भनेको धारण गर्ने हो दाजु।तर अब तपाइ जान्छु नै भनेपछि महादेवले नि कहाँ रोक्ला र ?” उसले जिस्काउँदै भन्यो,’ बरु कहिले जाने भन्‍नुस्।म शिव भगवानलाइ मेरो दाजु आउँदैछ भन्दिन्छु।’

मैले झट्टै सम्झिएँ

यस पटक त साउनको दोस्रो परेछ !

मैले मुख निरास बनाए।

रुम मेटले फेरि व्‍यङग्‍य हान्‍यो,

‘दाजु जाने पो हो की म पठाओ बुक गरुम ?’

मैले पनि हाँस्दै भने,’ नो दाजु अब तपाइले भने अनुसार नै लास्ट सोमबार जान्छु बोलमबम्’

दिनहरु बित्दै गए। दुइ हप्तापछि आयो लास्ट सोमबार।

तर त्यसको अघिल्लो दिन आइतबार नै जानु पर्ने।

गन्तव्‍य रहेछ सुन्दरीजलबाट पशुपतिनाथ।

बोलबमको लागि चाहिने बोलबंम लेखेको शिव अंकित भेस्ट, गम्छा, जल राख्‍ने बट्टा, निधारमा बाँध्‍ने फेटा मैले अघिल्लो हप्ता नै किनिसकेको थिएँ।

आइतबार अफिसको नियमित मिटिङको लागि ११ बजे उपस्थित भए। मिटिङ सकियो। कामसँगै साँझ पर्न लागेको थियो। एकजना सहकर्मीले कुर्सी मतिर फर्काएर भन्यो,’ बोलबम् जाने होइ सर? की उही हो गफ। गएको प्रमाण चाहिन्छ है।’ मैले मुस्कानको इसाराले हुन्छको संकेत गरेँ।

मैले अफिसमा लौ म त आज बोलबम जानु पर्ने भयो भन्दै सबेरै छुट्टि मागे र स्वीकृत गराएँ। तर कसरी जाने पत्तो थिएन। अफिसकै एकजना सहकर्मी चावहिल चुच्चेपाटी एरियामा बस्‍ने हुँदा उसले मलाइ आधा बाटो लिफ्ट दिने कुरा भयो।

साँझको करीब ८ बज्नै लागेको थियो। मैले नियमित खाने गरेको खाना पनि नखाइकन सहकर्मीको बाइकमा बसेर लागेँ सुन्दरीजलतर्फ। तर उसको बसाइ गौरीघाट भए पनि आधा बाटोसम्म राहतभयो मलाई।

बाइकमा मित्रपार्कसम्‍म मलाई छाडेर ऊ हिँड्यो घरतिर। म जोरपाटी जाने निलो माइक्रो चढे। माइक्रोमा बस्न के खोजेको थिएँ,’ चलरे काबरिया शिवके धाम’ गीतको झोक्का मेरो कानमै गुञ्‍जिन आइपुग्यो। तत्क्षण मनै फुरुङ्ग भयो मैरो।  मेरो मष्तिष्कले बोलबम भन्‍न सुरु गरिसकेको रहेछ।  दाया-बाया हेरे।सबैजना शान्तपूर्वक त्यही गीत सुनिरहेका जस्ता देखे। उनीहरुको अनुहारतिर हेरेर सोचे, ‘ यिनीहरु पनि बोलबमका भक्त हुन क्यार ! तर होइन रहेछ। उनीहरु त स्मार्ट मोइबालको च्याटिङ, गेमिङ र यूट्यूबमा इयरफोन लगाएर मस्त थिए।’

माइक्रो चाबहिल चुच्चेपाटीतिर लागेसी घ्याक्कघुचुक्क बढी गर्न थाल्यो। त्यसपछि यसो सडकतिर हेरे। हिलो गरेजस्तो। ठाउँ-ठाउँमा पानीको खाडल। कुनै ठाउँमा भर्खरै बनाउन लागेजस्तो। जसोतसो जोरपाटी पुगेर ओर्लिए। सडकमा भोजपुरी गाना बजिरहेको थियो, ‘भोला बाबा, ख्याला ना भाङके गोला बाबा।’

त्यहाको वरिपरी सडकपेटीदेखि पसलमा बोलबमका लागि बेच्न राखिएका सामग्रीहरुको किनबेच भइरहेको थियो। जल भर्ने बट्टा किन्न पसलमा गएर सोधेँ, ‘जल भर्ने बट्टाको कति हो ?’ तराइ मूलको मान्छेबाट उत्तर आयो, ‘२ सय ५० रुपैया।’ तर बट्टा भने एकदमै सानो लाग्यो। त्यही नि किने।

अरु पनि सोध्न मन लागेर सोधे,’ यो बोलबमबाला भेस्टलाइ कति नि ?’ पान चपाउँदै गरेको ती व्‍यक्तिले भुइँमा पिच्च थुक्दै भने,’ पाँच सौ रुपैयाँ। कितना लिने ?’ हत्तपत्त भने, ‘नलिने दाजु साह्रै सस्तो रहेछ।’ त्यसपछि उसको जवाफ थियो,’ अरे दाजु तपाइ काठमाण्डुमा के सस्तो पा’नु हुन्छ ? सबचीज सरकारले बढाएछ हामीले थोडी बढाएछ ?!’

सुन्दरीजल जाने बाटोमा बोलबम यात्रुहरुलाई बोलाइरहेका थिए, ‘ सुन्दरीजल जाने बोलबम यात्रीहरु गाडीमा चढौ। नत्र छुट्छ। मात्र ४० रुपैयाँ।’ खाली गाडी एक्कै क्षणमा ‘प्याक’ भयो। गाडिभित्र प्राय सबैले गेरुवा रङको गम्छा, निधारमा बोलबम लेखिएको फेटा बाधेका थिए। सबै हर्षित प्रफूल्लित थिए। केही क्षणमे गाडी गुड्यो सुन्दरीजलतर्फ। गाडिभित्र पनि उही डिजे टाइपको भोजपुरी बोलबमको गाना बज्‍यो, ‘बिन भोलेके ये सावन,मन भावन ना लागे।’

सुन्दरीजल पुग्दासम्‍म मैले तराइमूलका केही साथीहरु बनाइसकेको थिए। उनीहरुसँग भोजपुरी, मैथिली भाषामै बोलेरै। त्‍यहीमध्ये आउट ड्रेसमा मलाई देखेर एकजनाले सोधे,’ तपाइ बोलबम जाने एक्लै हो ?’ मैले चश्‍मा मिलाउँदै भने ‘हजुर। एक्लै हो। अब बोलबम धाममा साथी भइहाल्छ नि शिव जी साथमा हुनुहुनछ।कि चिन्ता मान्‍ने ?’ उताबाट एक्कै स्वरमा आयो, ‘ बोलबम, साथी बम। बनाऊ बम।’ मैले पनि मुन्टो हल्लाएर साथीबम (साथी बन्‍ने)को सहमति दिए। १० मिनेटपछि सुन्दरीजल आइपुग्‍यो। सबैजना बोलबम- बोलबम भन्दै बसबाट ओर्लिए। म पनि ओर्लिए। त्‍यतिबेला रातको १० बज्नै लागेको थियो।

बसबाट ओर्लिनासाथ त्यहा पनि बोलबमको डिजेगीतमा महिला-पुरुष सँगै नाचिरहेका थिए भने कोही बोलमबमको मन्त्र जपिरहेका थिए। कोही किनमेलमा व्यस्त थिए। सुन्दरीजल आउने भक्तजनहरुको लागि त्यहाँ पनि बेलपत्र, तिल-जौ अगरबत्ती, गम्छा, काबरिया, अगरबत्तीदेखि रुद्राक्षको माला समेत विक्री भइरहेको थियो।

केहीबेरको त्यो रमझम हेरेपछि हाम्रो टोली लाग्यो सन्दरीजलको मुहानतर्फ। जहाँ स्नान गर्ने र शिवको जल भर्ने भक्तालुहरुको लर्को थियो।सबै भक्तजनहरु गेरुवा वस्त्र, नाङगै खुट्टा उकालो लागिरहेका थिए। रातको समयमा भर्‍याङै भर्‍याङ त्यो पनि मोड नै मोड। छेउमा सुन्दरीजल सुसाएको आवाजले मन आनन्दित भक्तजनहरु झन जोरले हरहर महादेव, गंगाधारी बोलबम भनिरहेका थिए। तर प्रेसर भएकाहरु, मोटोपन भएका भक्तजनहरु बीचबीचमा थकाइ मार्दै उकालो छिचोल्दै आइरहेका थिए।

जल भर्ने ठाउँमा पुग्नै लाग्दा बीचमा प्रहरीको चेकिङ भयो लाइनमा। एकजना प्रहरीले भक्तजनलाई तथानाम गाली गरिहरेका थिए। उनी सायद रक्सी पिएर बोलमबम आएका थिए की गाँजा खाएर। प्रहरीले उनलाइ मादक पदार्थलगायतका खाएर बोलबम आउन नहुने कुरा सम्झाइरहेका थिए।

बोलबम यात्रुहरु लाइनमा थिपिँदै गए, बाटो सांघुँरो बन्दै गयो। जतिजति उकालो लाग्यो उतिउति एक लाइन मात्रै लागेर जाने स्थिति आइपुग्यो। त्‍यही पनि बीचबीचमा चलाख भक्तजनहरु लाइन मिचेर जलस्थान ठाउँमा जसोतसो पुगेका थिए।

केही बेरमै १२ बज्नेवाला थियो। भक्तजनको सयौ भीडले सुन्दरीजल गुञ्जयमान भयो।

मध्यरातमा शिवको महिमा गाउने र नुहाउनेको लर्को लाग्‍यो। कोही सेल्फी मोबाइलमा मार्ने कोही मिलेर भजन गाइरहे, ‘ बोलबम बोलबम। ऊ नम: शिवाय’

रुखको टुप्पोमा चारैतिर बलेको उज्यालो र गेरुवा बस्त्रधारी, कम्मरमा जल, मनमा शिवको मन्त्र ‘बोलबम’को उच्चारणले म मन्त्रमुग्ध भइ मध्यरातको महायात्रीको साक्षी स्वयम बन्‍न पुगे।त्‍यसपछि सुरुभयो सुन्दरीजलबाट पशुपतिनाथसम्‍मको ‘बोलम बम’ महायात्रा !

कम्मरमा जल बोकेर, निधारमा बोलबमको फेटा/गम्छा बाँधेर अनि मनमा बोलबम बोलबमको मन्त्र गुञ्जयमान गर्दै जोरपाटी- बौद्ध-गौरीघाट हुँदै पशुपतिनाथ जल बिसर्जनका लागि डाँकबमदेखि बोलमबमसम्मका भक्तजनहरु सहभागि थिए। यतिमात्र नभएर कोही भक्तजनहरु सुन्दरीजलबाट स्कुटी, मोटरसाइकलदेखि कार, पिक-अप भ्यानका साथै बसमै जल बोकेर पशुपतिमा चढाएका थिए।

भक्तजनहरुबाट बाटोभरी बोलबमको नारा लाग्यो:

बोलबम- बोलबम
जट्टाधारी-बोलबम
त्रिशुलधारी-बोलबम
गंगाधारी-बोलबम
नागबाला-बोलबम

बोलबमको नारा हो
शिव नै साहारा हो
बोलबम टाढा छ
तर माया गाढा छ
बोलबम- बोलबम्
बोलबम बोलबम् !!

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्