ससुराली गएर श्रीमती, सासु र सालामाथि खुकुरी प्रहार, राती नै भागे युवा

सांकेतिक तस्बिर

बुटवल–अर्घाखाँचीमा एक युवाले ससुराली गएकी श्रीमती, सासु र सालालाई खुकुरी प्रहार गरेका छन् ।

भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खमारीबाँसका २७ वर्षीय चिरन घर्तीले सोमबार राती भूमिकास्थान नगरपालिका वडा नम्बर ८ लम्चीमा ससुरालीमा गएर आफ्नी श्रीमती, सासु र सालोलाई खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारवाट श्रीमती १८ वर्षिया गीता घर्ती, सासु ४३ वर्षीया भूमकला क्षेत्री र साला ११ वर्षिय अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

मुख छोपेर राती ससुराली पुगेका उनले तीनजनालाई खुकुरी प्रहार गरी भागेका थिए ।

घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल ल्याइएको थियो ।

बुटवलमा उपचार हुन नसकेपछि तीनै जनालाई चितवनको पुरानो मेडिकल कलेजमा लगिएको छ । राती भागेका घर्तीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्