इन्सपेक्टर बिक भन्छन्, ‘टुप्पी काटेको छैन, सुरक्षाका कारण जनै खोसेको पक्कै हो’

पत्रकार सम्मेलन गर्दै मानसिंह धामी। तस्बिर: देशसञ्चार।

काठमाडौँ – कैलालीको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक माधव बिकले हिरासतमा लिइएको व्यक्तिको जनै र टुप्पी काटिएको आरोपको खण्डन गरेका छन्। चुरे गाउँपालिका–६ का मानसिंह धामीले पत्रकार सम्मेलन गर्दै आफूलाई हिरासतमा लिएका बेला जनै र टुप्पी काटिदिएको आरोप लगाएका थिए।

तर प्रहरी निरीक्षक बिकले उक्त आरोप गलत भएको बताएका छन्। सुरक्षाका कारणले जनै निकालेको स्वीकार गरेका बिकले टुप्पी भने नकाटेको दाबी गरे।

विज्ञापन

‘सुरक्षाका कारण हिरासतमा रहेका व्यक्तिलाई डोरी, लेस जस्ता सामग्री राख्न दिइँदैन, त्यसैले जनै निकालिएको हो, यसलाई धार्मिक मुद्दा बनाएर प्रचार गर्न खोजिदैछ’, बिकले देशसञ्चारसँग भने।

उनले जनै माग्दा धामीले दिन नमानेपछि बल प्रयोग गरेर निकालेको भने स्वीकार गरे। ‘रक्सीले मातेका धामीले जनै दिन्न मेरो धार्मिक आस्था हो भनेका थिए, तर सुरक्षाका दृष्टिकोणले उनले दिन नमाने पनि हामीले खोसेका हौँ, बिहान भने फिर्ता दियौँ, यसलाई कुप्रचार गरिँदैछ’, प्रहरी निरीक्षक बिकले भने।

रक्सी खाएर होहल्ला गरेको भन्दै धामी पक्राउ परेका थिए। हिरासतमुक्त भएपछि उनले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले आफ्नो जनै र टुप्पी काटिदिएको आरोप लगाएका थिए। उनले आफूले कहिल्यै रक्सी नखाएको दाबी पनि गरेका छन्।

धामीले सोमबार नै जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय धनगढीमा प्रहरीले आफ्नो धार्मीक स्वतन्त्रता हनन् गरेको भन्दै उजुरी समेत दर्ता गराएका छन्।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्