अस्ट्रेलियामा छुरा प्रहार गरेर महिलाको हत्या, एक महिला गम्भीर घाइते

सिड्नी- अस्ट्रेलियास्थित सिड्नीमा रहेको प्रमुख व्यापारिक केन्द्रमा मंगलबार अपराह्न एक व्यक्तिले छुरा प्रहार गरी महिलाको ज्‍यान लिएको छ भने  एकजना महिला गम्भीर  घाइते भएकी छन्।

मङ्गलबार अपाराह्नमा भएको उक्त हमलामा न्युसाउथवेल्स प्रहरीले  २१ वर्षीय युवकलाई पक्राउ गरेको छ । उनी सिड्नीस्थित मारायोङ नामक ठाउँमा बस्ने कुरा प्रहरीले उल्लेख गरेको छ। केही मिडियाहरूको हमलावरको नाम मर्ट ने भएको उल्लेख गरे पनि प्रहरीले भने अहिलेसम्म उक्त नामको पुष्टि भने गरेको छैन ।

विज्ञापन

न्युसाउथवेल्स प्रहरीका कमिश्नर मिक फुलरले उक्त छुरा आक्रमणमा ती युवा एक्लै संलग्न रहेको बताएका थिए। मिडियासँगको कुराकानीका क्रममा उनले सो हमला आतङ्कवादी विचारधाराबाट प्रभावित भएकोजस्तो प्रारम्भिक अनुसन्धानपश्चात् देखिए पनि आतङ्ककारी हमला नभएको बताए।

उनले भने, “सो व्यक्तिको जाँच गर्दा कुनै पनि आतङ्कवादी संगठनसँग साँठगाँठ रहेको भेटिएको छैन। यद्यपि अहिले नै सबै कुराको निक्र्योल गर्नु उपयुक्त हुने छैन । विस्तृत अनुसन्धानपश्चात् सबै कुरा बाहिर आउने नै छ।”

हमलावरलाई स्थानीय तीनजना व्यक्तिहरूले नियन्त्रणमा लिएका थिए। प्रहरीले उक्त हमलावर मानसिक समस्याबाट गुज्रिरहेको इतिहास रहेको पनि जनाएको छ।

छुरा आक्रमणबाट मृत्यु हुने २१ वर्षीय युवती यौन व्यवसायी रहेको बताइएको छ जसलाई सिड्नीको विनयार्डस्थित क्लियरेन्स स्ट्रिटस्थित एक घरमा करिब ३:१५ बजे मृत फेला पारिएको प्रहरीले जनाएको छ।

उनलाई घाँटी रेटिएको अवस्थामा फेला पारेको पनि विभिन्न सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् भने घाइते महिलालाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

उक्त घटनापश्चात् सिड्नीको किङ स्ट्रिट र क्लियरेन्स स्ट्रिटमा व्यापक रूपमा सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो। प्रहरीले उक्त आक्रमणको कारण अहिलेसम्म थाहा नभए पनि अहिलेको लागि खतरा टरेको बताएको थियो।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्