नेपालगञ्‍जमा गाई संरक्षण कोष खडा गरिने

नेपालगञ्‍ज-नेपालगञ्ज उपमहानगरपालिकाले गाई संरक्षण कोष बनाउने भएको छ। कान्जीहाउसमा राखिएका गाईहरु धमाधम मरिरहेको भन्दै मेयरको कडा आलोचना भएपछि गाई संरक्षणको लागि कोष बनाउने, रेखदेखका लागि व्यवस्थापन समिति गठन गर्ने, अनुगनम समिति बनाउने निर्णय भएको हो।

मेयर डा. धवलशमशेर राणाले गाई संरक्षणमा लागेका व्यक्तिहरुलाई बोलाएर छलफल गर्दै उक्त निर्णयहरु गरेका हुन्।गाई संरक्षण कोष बनाएर उपमहानगरपालिकाले खाता खोल्ने, त्यसमा संघ संस्थाको सहयोग लिने, मेयर राणाकै संयोजकत्वमा रहेको कान्जीहाउस व्यवस्थापन समितिले कोषको रकम खर्च गर्न सक्ने, उपप्रमुख उमा थापामगरको संयोजकत्वमा रहेको समितिमा राजनीतिक दल सम्मिलित टोलीले अनुगमन गर्ने निर्णय भएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।

कान्जीहाउस व्यवस्थापन समितिमा गाई संरक्षणमा खटिएका संघ संस्था र युवाहरु सम्मिलित हुने तय गरिएको छ। नेपालगञ्ज–२१, बिर्तामा सञ्चालन गरिएको कान्जीहाउसमा धमाधम गाईहरु मरेको समाचार आएपछि आर्य समाज, नेपालगञ्ज ग्यालरीको टीमले दैनिक त्यहाँ पुगेर घाँस, दानापानी खुवाउनेदेखि औषधी उपचार गरिरहेको छ।

डेढ÷दुई सय गाई राख्नका लागि बनाइएको कान्जीहाउसमा तीन सय ९३ बढी गाई, गोरु, गधा, खच्चड भएपछि व्यवस्थापनमै समस्या भएको हो। गाई, गोरु, गधा, खच्चड, घोडा सबैलाई एकै ठाउँमा राखिदा बलियोले मात्रै खाने, निर्बललाई हान्ने भएकाले निर्बल पशुले खाना खान नपाई मरिरहेको छ। मंगलबारको छलफलमा गाई संरक्षणकर्ताहरुले गाई, गोरु, गधा, खच्चड र घोडालाई छुट्टाछुट्टै ठाउँमा राख्न सुझाव दिएका छन्।

केही दिनअघि राखिएको यस्तै बैठकमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले आठ वटै पालिकाका प्रमुखलाई बोलाएर जिल्ला सभा गरेर जिल्लामा एउटा गौशाला बनाउनेबारेमा निर्णय गर्ने बताएका थिए।त्यो जिल्ला सभा अझै बोलाइएको छैन।

नेपालगञ्जमा दैनिक ठूलो संख्यामा गाई भारतबाट आउदा समस्या भएको हो।जमुनाहा नाकाबाटै दैनिक लस्कर लागेर गाई आइरहेका छन्।त्यसबाहेक बाँकेका सडकमा एक हजार चार सय बढी छाडा पशु रहेको प्रहरीको तथ्यांक रहेको छ।सबैलाई कान्जीहाउसमा राख्न सकिने अवस्था नै छैन।

कान्जीहाउसमा पुर्‍याइएका पनि मरिरहेपछि मेयरलाई तनाव भएको हो।मेयर राणाले भने, गाई संरक्षण कोष बनाउने र त्यसलाई सञ्चालन गर्न एउटा समिति बनेको छ।अब तत्काल गर्न पर्ने काम यही समितिले गर्छ।त्यसको अनुगमन राजनीतिक दलका प्रतिनिधिले गर्छन् ।’

कान्जीहाउसमा अहिले पनि दैनिकजसो नै गाई मरिरहेका छन्।मंगलबार नै दुई वटा मरेको छ।नेपालगञ्ज उपमहानगरपालिकाले सडकमा रहेका गाईलाई कान्जीहाउसमा पुर्‍याएर राम्रै गर्न खोजेको भएपनि व्यवस्थापन फितलो हुँदा गाई मरिररहेका छन्।

गाई संरक्षण अभियान्ताहरु श्याम शाक्य, मनोज श्रेष्ठ, विवेक श्रेष्ठ, हरि सुवेदीलगायतले कान्जीहाउसमा रहेका गाई, गोरु, बाछाबाछी, गधा, खच्चड र घोडालाई छुट्टाछुट्टै ठाउँमा राख्नु पर्ने सुझाव दिए।बलियोे निर्दोलाई हान्दा र निर्दोले खाना नपाउदा दैनिक गाई मर्नेक्रम चलिरहेको अभियान्ता सुवेदीले बताए।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्