भिषा रिजेक्ट गरेको केही बेरमै दूतावासले फोन गर्‍यो- ‘सन्दीप, मिस अन्डरस्ट्यान्डिङ भयो’

काठमाडौं : ‘आसन्न सिपीएल २०१९ का लागि भिसा लिन आज अमेरिकन एम्बेसी गएको थिएँ। सन् २०१६ देखि राष्ट्रिय खेलाडी भएर नेपाललाई विश्वभरका विभिन्न लिगमा प्रतिनिधित्व गरेको म अचम्मित छु- भिसाका लागि दिएको आवेदन अस्विकृत भयो’, नेपालका प्रधानमन्त्री र नेपालस्थित अमेरिकी दूतावासको अफिसियल ट्वीटर ह्यान्डललाई मेन्सन गर्दै लेखेको यो ट्वीटपछि अर्को ट्वीट लगत्तै आयो, ‘यो देखेर म हाँसिरहेको थिएँ। पूरा डकुमेन्ट पेश गरेर पनि यस्तो हुँदा वास्तवमै निशब्द भएँ। एक खेलकर्मीका रुपमा सीपीएलमा बार्बाडोस ट्रिडेन्ट्सका लागि खेल्न जान गाह्रो भएको छ।’

पछिल्लो ट्वीटमा सीपीएल, बार्बाडोस ट्रिडेन्ट्स, हेलो सरकार, नेपालको परराष्ट्र मन्त्रालय र नेपालका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको अफिसियल ट्वीटर ह्यान्डललाई पनि मेन्सन गरिएको थियो। दुवै ट्वीट एकाएक भाइरल भए सामाजिक सन्जालमा। दुवै ट्वीट गर्ने नेपालका सुपर स्टार क्रिकेटर सन्दीप लामिछाने थिए जो केही दिनअघिमात्र क्यानडामा आयोजित ग्लोबल टीट्वेन्टी क्रिकेट खेलेर फर्किएका हुन्। पछिल्ला केही वर्षमा उनले विश्वका एक से एक व्यवसायिक क्रिकेट लिग खेलेका छन्: अस्ट्रेलियाको बिग बासदेखि भारतको इन्डियन प्रिमियर लिगसम्म। अनुमान  स्वभाविक थियो : विश्वभर नाम कमाइरहेका सन्दीपलाई अमेरिकाले सहजै भिसा दिने छ।

विज्ञापन

अमेरिकाले सन्दीपलाई नचिनेको भन्दै सामाजिक सन्जालमा चर्को आलोचना भयो। नियमित तालिकाअनुसार अमेरिकी दूतावासमा भिसा आवेदनको अन्तर्वार्ताको समय सकिसकेको थियो मंगलबारका लागि। उनी लामो लाइन छिचोलेर कन्सुलर अफिसरकहाँ पुगेको दुई मिनेटमै ‘रिजेक्ट’ भएका थिए।

केहीबेरपछि नै अमेरिकी दूतावासबाट सन्दीपलाई खबर आयो- सन्दीप, मिस अन्डरस्ट्यान्डिङ भयो। तपाईँ अहिले नै आउनुस्।

मंगलबार दिउँसो सन्दीपले आवश्यक प्रक्रिया  पूरा गरेपछि अमेरिकी दुतावासले भिसा दिने निश्चित गर्‍यो। सन्दीप निकट स्रोतका अनुसार मंगलबारको पहिलो अन्तर्वार्तामा केही क्षणमै अफिसरले उनको आवेदन अस्वीकृत भएको निर्णय सुनाएका थिए। दुतावासले ती भिसा अफिसरले सन्दीपबारे थाहा नपाएको स्वीकार गरेको छ। ‘अन्य सामान्य व्यक्ति सहर नै सन्दीपलाई व्यवहार हुँदा यस्तो हुन गयो’, दूतावासका अधिकारीको भनाई उद्धृत गर्दै सन्दीप निकट स्रोतले भन्यो।

सीपिएल अर्थात क्यारेबियन प्रिमियर लिग क्रिकेट विश्वका ठूला व्यावशायिक क्रिकेटमा पर्छ। सन्दीपले अघिल्लो सिजन पनि यो प्रतियोगिता खेलेका थिए। भिसा पाउने निश्चित भएपछि सन्दीपले नेपालका प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, हेलो सरकार, सीपीएल, बार्बाडोस ट्रिडेन्ट्सका ट्वीटर ह्यान्डललाई मेन्सन गर्दै ट्वीट गरेका छन्: अन्तत समस्या समाधान भएको छ। सहयोगका लागि अमेरिकी दूतावासलाई धन्यवाद। अमुल्य दबाब दिनु हुने मेरा शुभचिन्तक र सरोकारावालालाई धन्यवाद।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्