सुत्केरी छाडेर भागेका श्रीमान्‌लाई श्रीमती जिम्मा लगाइयो !

जुम्ला-छोरी जन्मेको भन्दै श्रीमती र नाबालक छोरीलाई छाडेर गएका श्रीमान्को जिम्मा लगाइएको छ। जुम्ला पातारासी गाउँपालिका तल्फी गाउँ निवासी ३५ वर्षीया पुतली महतारालाई स्थानीय प्रशासन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, गाउँपालिका र सरोकारवाला निकायको पहलमा घरमा फिर्ता गरिएको छ ।

अस्पतालमा बच्चा जन्मेपछि श्रीमान् वीरबहादुर बोहराले छोरी जन्मेको चित्त नबुझेपछि सुत्केरीलाई अस्पतालमै छाडेर उनी घरतिर लागेपछि सुत्केरी पुतली साहारा खोज्दै रेडियो नारी आवाजमा पुगेकी थिइन्।

विज्ञापन

श्रीमान्‌ले छाडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जानसमेत कठिन भएपछि सो दिन पत्रकार र प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको पहलमा अस्पतालमा आश्रयका लागि राखिएको थियो।

आपत्कालीन रुपमा उनलाई प्रतिष्ठानको इमर्जेन्सी विभागको (अवजरवेसन) कोठामा राखिएको थियो । पुतलीको आश्रयनै नभएपछि विशेष हेरचाहसहित निःशुल्करुपमा राखिएको थियो।

श्रीमान्ले छाडेर गएको खबर सरोकारवाला निकायले थाहा पाएपछि प्रहरीले बीरबहादुरलाई सदरमुकाम पुर्‍याएको थियो । गाउँपालिकाको सहयोगमा एम्बुलेन्समा घर फर्काइएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिए।

पुतली बच्चा जन्माउनका लागि भर्ना हुन यही साउन ७ गते सदरमुकाम आएकी र साउन १३ गते बच्चा जन्मेको थियो । श्रीमान्ले अब राम्ररी मिलेर बस्ने र स्याहारसुसार गर्नेसमेत बताएका गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले जानकारी दिए। उनका तीन छोरा र तीन छोरी छन् ।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्