सिक्किममा भाजपाको 'ब्रेक थ्रु'

सिक्किममा भाजपा बन्यो प्रमुख प्रतिपक्षी दल

तस्वीरः सिक्किम डेमोक्रेटिक फ्रन्टका १० विधायकलाई पार्टी प्रवेश गराउन भाजपाले दिल्ली गरिएको कार्यक्रम।

झापा- नेपाली भाषी बाहुल्य भारतको हिमाली राज्य सिक्किमको विधान सभाका १० जना विधायकलाई आफ्नो पार्टीमा समाहित गरेर भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टीले सिक्किमको राजनीतिमा छलाङ मारेको छ।

छुट्टै देश रहेको सिक्किम भारतमा विलय भएपछि भारतका केन्द्रीय राजनीतिक दलले खासै प्रभाव जमाउन नसकेका बेला गत अप्रिल महिनामा भएको विधान सभा चुनावमा तत्कालिन सत्तारुढ दल अहिलेको प्रतिपक्षी पूर्व मुख्यमन्त्री पवनकुमार चाम्लिङ नेतृत्वको दल सिक्किम डेमोक्रेटिक फ्रन्टका १० जना विधायकलाई भाजपाले मंगलबार आफ्नो पार्टीमा समाहित गरेको हो।

गत अप्रिल महिनाको निर्वाचनमा ३२ सिटमध्ये १५ सिट ल्याएर प्रतिपक्षी बनेको सिक्किम डेमोक्रेटिक फ्रन्ट अब ५ सिटमा खुम्चिएको छ। सिक्किम विधान सभामा अब भाजपा प्रमुख प्रतिपक्षी दलको रुपमा स्थापित हुनेछ।

चाम्लिङ नेतृत्वको पार्टीका विधायकहरुले मंगलबार भारतको राजधानी दिल्लीमा भाजपाको टिकट लिएका हुन्। उनीहरुलाई भाजपाका राष्ट्रिय महामन्त्री राम माधवले पार्टी प्रवेश गराए।

भाजपा प्रवेश गर्ने विधायकहरुमा दोर्जी छिरिङ लेप्चा, उगेन ग्यात्सो, नरेन्द्रकुमार सुब्बा, डि. आर. थापा, कर्मा सोनाम लेप्चा, के. बी. राई, डि. डि. भुटिया, श्रीमती फरमन्ती तामाङ, पिन्टो नाम्ग्याल लेप्चा र श्रीमती राजकुमारी थापा रहेका भाजपाले जनाएको छ।

भाजपाको सदस्यता लिएपछि पार्टीको केन्द्रीय नीति अनुरुप प्रदेशमा काम गर्ने विधायक दोर्जी छिरिङ लेप्चाले पत्रकारहरुसंग बताए।

विधायकहरुलाई स्वागत गर्दै भाजपाका राष्ट्रिय महामन्त्री राम माधवले आफ्ना पार्टीका विधायकले सिक्किम विधान सभामा सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताए।

सिक्किम डेमोक्रेटिक फ्रन्टले सिक्किममा विगत २५ बर्ष शासन चलाएको थियो। अहिले सिक्किम क्रान्तिकारी मोर्चाको सरकार छ। मोर्चाका अध्यक्ष पिएस गोले त्यहाँको मुख्यमन्त्री छन्।

सिक्किम विधान सभामा यस अघि भारतका केन्द्रीय दलहरुको उपस्थिति लगभग शून्यको स्थितिमा थियो।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्