प्रहरी हिरासतबाट भाग्ने/भगाउनेलाई मनलाग्दी कारबाही, कुन कानुन टेक्नेमै अन्योल

डिल्लीबजार जेल।

काठमाडौँ- गत असार २८ गते इलाका प्रहरी कार्यालय धनौली, खजुरा, बाँकेको हिरासत कक्षबाट तीन जना थुनुवा फरार भए। उनीहरुले हिरासत कक्षको  शौचालयको भेन्टिलेटर काटेर भागेका थिए।  खजुरा गाउँपालिका-४ का १८ वर्षीय सिमन बिक, खजुरा-३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्की फरार भएका थिए।

बिक लागु औषध मुद्दामा तथा थापा र कार्की सार्वजनिक मुद्धामा पक्राउ परेका थिए। फरार तीनै जना पछि पक्राउ परे। थापा र कार्की जिल्ला प्रशासन कार्यालयबाट र बिक अदालतबाट धरौटीमा छुटे। प्रहरीले छुटेका तीनै जनालाई जिल्ला कारागारको जिम्मा लगायो, हिरासतबाट भागेको कसुरमा मुद्धा चलाउन। बाँके प्रहरी प्रमुख वीरबहादुर वलीका अनुसार  कारागारले दर्ता गरेको मुद्दाको थुनछेक सुनुवाई गर्दै जिल्ला अदालतले एक जनालाई सुधार गृह, एक जनालाई धरौटी र बाँकी अर्कोलाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ।

यता थुनुवा हिरासतबाट भाग्दा लापरबाही गरेको भन्दै हिरासतको सेन्ट्रीमा  खटिएका जवान निलम्बनमा परेका थिए। छानबिन समितिले ती सेन्ट्रीबाट मिलेमतो नभएको तर लापरबाही चाहिँ भएको निष्कर्श निकाल्यो। जवानलाई कारबाहीका लागि केही दिनअघि विषेश अदालत गठन गर्ने निर्णय भएको छ। प्रहरी ऐनअन्तर्गत बन्ने विषेश अदालतले हिरासतबाट थुनुवा भगाउन सहयोग गर्ने प्रहरीलााई बढीमा पाँच वर्षसम्म कैद सजाय गर्न सक्ने व्यवस्था छ।

गत महिना सिंहदरबार वृतबाट म्याद थपका लागि पाटन उच्च अदालत ल्याइएका एक जना थुनुवा शौचालय जाने बहानामा फरार भए।  बैंकिङ कसुरका थुनुवा रामबोल खड्का र अर्का एकलाई एउटै हत्कडीमा अदालत पुर्‍याइएको थियो। खड्काले शौचालय जानुअघि हत्कडी बढी कसिएको भन्दै अलिक खुकुलो बनाइदिन ड्युटीमा खटिएका जवानलाई आग्रह गरे। जवानले केही खुकुलो बनाए। हत्कडीसहित दुवै थुनुवा शौचालय छिरे। शौचालयबाट बाहिर निस्कँदा खड्का थिएनन्।

बाँकी अर्का थुनुवाको एक हातमा हत्कडी झुन्डिरहेको थियो। हत्कडी खोलेर शौचालयकै ढोकाबाट बाहिरिएका खड्का भागेको ती जवानले पत्तै पाएनन्। ती थुनुवासँग दुई जना प्रहरी कर्मचारी थिए।  फरार खड्का पछि पक्राउ परे। बैंकिङ कसुरमा अदालतले खड्कासँग ९ लाख रुपैयाँ धरौटी माग्यो। साथै अदालत परिसरबाट भागेको भन्दै पुर्पक्षका लागि कारागार चलान गर्ने पनि आदेश गर्‍यो। यता ड्युटीमा लापरबाही गरेको भन्दै काठमाडौं प्रहरी परिसरले एक जनालाई २ वर्ष बढुवा रोक्का र अर्कोलाई तल्लो टाइम स्केलमा घटुवा गरेको छ।

६ महिना अघि दाङको तुल्सीपुर इलाका प्रहरीको हिरासतमा रहेका सार्वजनिक अपराध कसुरका थुनुवा दिलीप बुढाथोकी अदालतबाट म्याद थपेर ल्याइनेक्रममा प्रहरीको भ्यानबाटै भाग्न सफल भए। १० जना जवानको टोलीले ३२ जना थुनुवालाई म्याद थपेर प्रहरी कार्यालय ल्याउँदा झिमिक्क साँझ परेको थियो। बुढाथोकीको हातमा हत्कडी लगाइएको थिएन। प्रहरी टोलीको नेतृत्व गरेका असई मोटरसाइकलबाटै प्रहरी कार्यालय फर्किएका थिए।

फरार भएका दिलिप अझै पक्राउ पर्न सकेका छैनन्। घटनालगत्तै दाङ प्रहरीले ड्युटीमा खटिएका जवानमध्येका शेरबहादुर बुढाथोकीलाई थुनुवा भगाउने अपराध गरेको कसुरमा मुद्धा चलायो, मुलुकी फौजदारी अपराध संहिताअन्तर्गत टेकेर। थुनुवासँगै नआएर मोटरसाइकल चढ्ने असईलाई निलम्बन गर्‍यो। पछि असईसहित दुई जना सईविरुद्ध विभागीय कारबाही भयो। मुद्धा चलाइएका बुढाथोकी अदालतबाट धरौटीमा छुटे। उनको मुद्धाको फैसला हुन बाँकी नै छ।

पछिल्लो समय प्रहरी हिरासतबाट थुनुवा भाग्ने क्रम बढ्दो छ। पछिल्ला महिनामा ललितपुरबाट तीन जना, सिंहदरबार वृतबाट पाँचसहित देशका विभिन्न स्थानबाट थुनुवाहरु भागिरहेका छन्। यसमा फरार भएका ती थुनुवालाई पक्राउ गरिसकेपछि भागेको कसुरमा कुन कानुन टेकेर मुद्धा चलाउने र थुनुवा भाग्दा ड्युटीमा रहेका प्रहरीलाई के कारबाही गर्ने भन्नेमा प्रहरी कार्यालयको मनोमानी देखिन्छ। पछिल्ला यी केही घटनामा  भागेका थुनुवाका हकमा कतै,  कारागार ऐन, २०१९ आकर्षित हुने भन्दै जुन मुद्धामा पक्राउ गरिएको थियो त्यसमा हुने सजायको डेढी सजाय मागदावी लिएर अदालतमा पेश गर्ने तयारी भइरहेको छ भने कतै थुनुवा भागेको हकमा कारागारले नै कारबाही गर्नेभन्दै प्रहरी पन्छिने गरेको छ।

के छ कारागार ऐनमा ?

कारागार ऐनले अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका थुनुवा र अदालतबाट सजाय फैसला भएका कैदीका विषयमा मात्र बोलेको छ। यसमा कारागारबाट भाग्ने कैदी तथा थुनुवा र उनिहरुलाई भगाउन खोज्ने र लापरबाही गर्नेलाई पनि सजायको व्यवस्था छ। तर एेनमा थुनुवा लेखेकै भरमा प्रहरीले कारागार एेन आकर्षित हुने विश्लेषण गरिरहेको प्रहरी अधिकारीहरु नै बताउँछन्।

‘अभियोग लागिसकेको थुनुवा भनेपछि अदालतमा मुद्धा दर्ता गरिसकेको अवस्था बुझ्नुपर्छ। प्रहरी हिरासतमा हुने भनेको अनुसन्धानका लागि मात्र हो’, कानुनमा दख्खल राख्ने एक प्रहरी अधिकृत भन्छन्। ती अधिकाकारीका अनुसार यस एेनले प्रहरीको हिरासतबाट भाग्ने थुनुवा र उनिहरुरलाई भगाउन खोज्नेबारे केही बोलेको छैन। प्रहरी हिरासतबाट  भाग्ने र भगाउन खोज्नेबारे मुलुकी फौजदारी अपराध संहिता २०७४ ले भने स्पष्ट बोलेको छ। संहिताको परिच्छेद ४ अन्तर्गत १०१ देखि १०३ दफासम्म यसबारे उल्लेख छ।

यसमा प्रहरी हिरासतबाट भाग्ने थुनुवालाई भागेको कसुरमा प्रहरीले नै मुद्धा चलाउन सक्ने उल्लेख गरेको छ। अर्कोतर्फ भगाउन मदत् गर्ने वा लापरबाही गर्नेलाई पनि यी दफाले समेटेको छ। हिरासतबाट थुनुवा भाग्दा मिलेमतो गर्ने वा लापरबाही गर्ने प्रहरी अधिकारीको हकमा प्रहरी एेन र मुलुकी अपराध संहिताका यी दफामध्ये एक लगाउन सकिने अधिकारीहरु बताउँछन्। ‘जुनमा बढी सजायको ब्यवस्था  हुन्छ त्यही प्रयोग गर्नुपर्छ भन्ने मान्यता हो। त्यसअर्थमा संहिताकै दफा लागु हुने अवस्था हुन्छ’, कानुनको औपचारिक शिक्षा समेत हाँसिल गरेका ती अधिकारी भन्छन् – तर हामी, थुनुवा भाग्दा पनि त्यतिबेला ड्युटिमा रहेका अधिकारीलाई निलम्बन र विभागीय कारबाही गरेर बसिरहेका छौँ। यो त सोझै मुद्धामै जानुपर्ने विषय हो। थुनुवाको गार्डमा खटिएका प्रहरी अधिकारीको लापरबाही चाहिँ हो तर अपराध चाहिँ भएन भन्नु शोभनीय हुन्न।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू