भारतीय सार्पसुटर थुनामा

मोरङ-व्यापारीको हत्या गर्ने योजना बनाएर विराटनगरमा पक्राउ परेका भारतीय ‘सार्पसुटर’ कुनालकुमार सिंहसहित तीन जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

अदालतका न्यायधीश कृष्णमुरारी शिवाकोटीको मंगलबारको इजालसले १९ वर्षीय सिंहसहित विराटनगरका मन्नुकुमार गुप्ता, सर्लाहीका हरिनारायण झालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

विराटनगर हाटखोलास्थित खाद्यान्न व्यापारी जितेन्द्र रायको हत्या गर्न भारतबाट सार्पसुटर मुख्य अभियुक्त मन्नुaकुमारले झिकाइएको मोरङ प्रहरीले गरेको अनुसन्धानबाट खुलेको थियो।

अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार हाल अदालतको आदेशपछि तीनै जना जिल्ला कारागार मोरङ चलान भएका हुन्। मोरङ प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले शुक्रबार मोरङ अदालतमा ‘संगठित रूपमा हातहतियार खरखजनासहित आपराधिक षडयन्त्र उद्योग’ मा पक्राउ परेका तीन र फरार रहेका दुई जना गरेर पाँच जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिवादीको बयान सकिएरसंगै सोमबार थुनछेक बहस भएको र आदेश आएको पौडेलले जानकारी दिए। थुनछेक बहसमा सरकारकोतर्फबाट सरकारी वकिलको कार्यालय मोरङका सहायक जिल्ला न्यायाधिवक्ता मुकुन्दकुमार रोग्मीले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट पाँच जना कानुन व्यवसायीहरूले प्रतिरक्षा गर्दै बहस गरेका थिए।

जसमा प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु माधवराज आचार्य र हेमराज पराजुली तथा अधिवक्ताहरू हेमराज पन्त, नारायणप्रसाद दाहाल र जीवन सापकोटाले बहस गरेका थिए।

फरार रहेका मोरङको कटहरी गाउँपालिका– ५ का ४३ वर्षीय मन्नुकुमार साह रौनियार र महोतरी जलेश्वर नगरपालिका–४ का २५ वर्षीय टिंकुकुमार झालाई अदालतले पक्राउ पुर्जी जारी गर्दै उपस्थितका लागि ३५ दिनको म्याद दिएको छ।

यस घटनामा अझै दुई जना भारतीय सापसुटर राजुकुमार रौनियार र राजेश झा फरार छन्।उनीहरू भारतीय भएकोले प्रहरीले पक्राउ गरेपछि मात्र प्रतिवादी बनाउने बताइएको छ।

पक्राउ परेका मुख्य अभियुक्त गुप्ताले पाँच लाख भारतीय रुपैयाँको सुपाडी दिएर विराटनगरमा खाद्यान्नको कारोवार गर्ने व्यापारी रायको हत्या गर्न सार्पसुटर ल्याएको अनुसन्धानबाट खुलेको सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा उल्लेख छ।

प्रहरीले सिंहलाई गत जेठ २७ गते २ वटा पेस्तोल र ७ राउण्ड गोलीसहित विराटनगर बसपार्कस्थित एक होटलबाट पक्राउ गरेको थियो।

साउन २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू