किन आत्महत्या गरिरहेका छन् अख्तियारमा मुद्दा परेकाहरु?

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएका व्यक्तिहरुले आत्महत्या गर्ने क्रम बढेको छ। साउन महिनामा मात्रै अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएका तीनजनाले आत्महत्या गरेका छन्।
गत साउन ३ गते त्रिभूवन विश्वविद्यालयको कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका परीक्षा नियन्त्रण कार्यालयका पूर्वकर्मचारी रामबहादुर पाण्डे, साउन १२ गते बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठ र साउन २६ गते मालपोत कार्यालय कलंकीमा कार्यरत रहेका बेला भ्रष्टाचार मुद्दा लागि निलम्बनमा परेका उदयपुरका हरिप्रसाद आर्चायले आत्महत्या गरेका हुन् ।
पाण्डेले त्रिपुरेश्वरस्थित राधा भवनको ६ तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् भने श्रेष्ठले माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको आठौँ तलाबाट हाम फालेर जीवनलिला समाप्त पारे।
उदयपुरका आचार्यले भने घर नजिकैको जंगलमा रुखमा भुण्डिएर आत्महत्या गरे । आचार्यले आत्महत्या गर्नुअघि अख्तियार प्रमुखलाई ‘दुई सय वर्ष बाँच्नु’ भन्दै सुसाइड नोट लेखेको फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले बताए ।
अख्तियारमा मुद्दा परेका व्यक्तिहरुले धमाधम आत्महत्याको बाटो रोज्न थालेपछि मनोविदहरुले चिन्ता व्यक्त गरेका छन् । त्यसमा पनि एक महिना नबित्तै उस्तै प्रकृतिका तीनवटा आत्महत्याका घटना भएपछि मनोविदहरु झस्किएका हुन् ।
अख्तियारमा मुद्दा परेर छानबिनकै क्रममा रहेका व्यक्तिहरुले किन आत्महत्याको बाटो रोजेका होलान्? मनोविद सनम पौडेलका अनुसार यो कमजोर मनस्थितिको उपज हो ।
सामाजिक प्रतिष्ठा नांगिएको महसुस भएपछि यस्ता व्यक्तिहरु आत्महत्याको गोरेटोमा हिँड्ने गरेको उनको बुझाई छ । ‘मुद्दा परेका व्यक्तिहरुलाई समाजले भ्रष्टाचारीको उपमा दिएको हिनताबाेध हुन थाल्छ, यस्ता व्यक्तिहरु कसैले आवेगमा आएर त कसैले डिप्रेशनको शिकार भएर आत्महत्या गरेको पाइन्छ’, पौडेलले भनिन् ‘जे भए पनि यो आत्मग्लानी र कमजोर मनस्थितिको उपज हो ।’
केही दिन अघि कञ्चनपुरका एक विद्यार्थीले मर्नुकाे कारण भन्दै आफ्ना एक शिक्षकको नाम सुसाइड नोटमा लेखेका पाइएपछि ति शिक्षकलाई पक्राउ गरेर अहिले कारबाहीको प्रक्रिया सुरु भएको छ ।
कानून सबैलाई समान हुने भन्दै सुसाइड नोटमा नाम उल्लेख भएकै आधारमा कारबाहीको भागेदार बनाइएका शिक्षकलाई जस्तै अख्तियारका प्रमुखलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग सामाजिक सञ्जालमार्फत उठिरहेको छ ।
तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने यो विषयमा प्रतिक्रिया दिन मानेन । मुद्दा परेका व्यक्तिहरुले आत्महत्या गरिरहेको विषयबारे अहिले केही बोल्न नमिल्ने अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । ‘त्यो छानबिनको विषय हो, विचाराधीन मुद्दामा अहिले केही भन्न मिल्दैन’, कोइरालाले भने ।
अख्तियारले मुद्दा चलाउँदैमा दोषी ठहर भैहाल्ने होइन । तर सामाजिक प्रतिष्ठा उदांगो भएपछि मुद्दा परेका व्यक्तिहरु तनावमा परेर आत्महत्या नजिक पुग्ने गरेको बताइन्छ । यस्ता व्यक्तिहरुका लागि अब सरकारीस्तरबाटै मनोसामाजिक परामर्षको व्यवस्था गरिनुपर्ने मनोविद पौडेलको सुझाव छ ।
‘मुद्दा लाग्दैमा दोषी प्रमाणित हुने होइन, कोही अदालतबाट निर्दाेष साबित पनि हुन सक्छन्’, पौडेल भन्छिन् ‘त्यसैले मुद्दा चलिरहँदा मनोसामाजिक परामर्षको व्यवस्था पनि हुनुपर्छ विदेशतिर त्यो छ ।’
तर राज्यले पक्षले भने यसमा खासै ध्यान नदिएको पौडेलको आरोप छ । सत्तारुढ दलका सांसदहरु उल्टै दिनमा कम्तिमा १० जना भ्रष्टाचारी मरेको सुन्न पाइयोस् भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै हिँड्छन् ।
केही दिनअघि सत्तारुढ नेकपाका सांसद झपट रावलले दिनमा १० जना भ्रष्टाचारी मरेको सुन्न पाइए मात्रै मुलुक विकासको पथमा हिँड्न सक्ने अभिव्यक्ति दिएका थिए ।