बोइङ ७३७ म्याक्स ग्राउण्डेड हुँदा घाटा, नर्वेको हवाई सेवाप्रदायकले रुट कटौती गर्ने

दुई ठूला दुर्घटनापछि हाल बोइङ ७३७ म्याक्स संस्करणका विमान विश्वभर ग्राउण्डेड छन् । गएको वर्ष जकार्तामा लायन एयर तथा गएको मार्चमा इथियोपियन एयरलाइन्सको विमान दुर्घटना भएका थिए ।

दुवै दुर्घटनामा बोइङ ७३७ म्याक्स संस्करणका विमान भएका हुन्, जसमा कुल ३४६ जनाको ज्यान गएको थियो।

विज्ञापन

उडानको केही समयमै दुवै दुर्घटनापछि विमानमै केही समस्या रहेको हुन सक्ने भन्दै ७३७ म्याक्स ग्राउण्डेड गरिएका थिए । त्यसपछिका अनुसन्धानमा विमानमा समस्या देखियो र हाल निर्माता कम्पनी बोइङले समस्या समाधान गरिएको बताएको छ ।

तर ७३७ म्याक्सको उडान सुरु भएको छैन । बोइङले केही समयअघि चाँडै नै उडान सुरु नभए ७३७ म्याक्स सिरिजका विमानको उत्पादन नै बन्द गर्ने बताएको थियो ।

हाल आएर नर्वेको एक हवाई सेवा प्रदायक कम्पनीले बोइङ ७३७ म्याक्स ग्राउण्डेड हुँदा आफ्नो कारोबारमा गम्भीर धक्का लागेको भन्दै उडान सेवा कटौती गर्ने बताएको छ ।

सहुलियत दरमा उडान सेवा प्रदान गर्दै आएको नर्वेजियन एयरले आउँदो महिनादेखि आयरल्याण्ड र अमेरिकाबिचकाे रुटमा हुँदै आएका उडान बन्द गर्ने जनाएको छ ।

दुवै रुट व्यावसायिक रुपमा उपयुक्त नदेखिएकाले सेवा बन्द गर्ने निर्णयमा पुगेको नर्वेजियन एयरले उल्लेख गरेको छ । नर्वेजियन एयरले मुनाफा कमाउन सकेको छैन, र यसको कारण बोइङ ७३७ म्याक्स ग्राउण्डेड हुनु रहेको बताइएको छ ।

आउँदो सेप्टेम्बर १५ देखि डब्लिन, कोर्क र शान्नोन हुँदै अमेरिका र क्यानडा पुग्ने सबै रुट बन्द हुने नर्वेजियन एयरले जनाएको छ ।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू