ट्रक ठोक्किँदा पुल दुई मिटर भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी – नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिकाअन्र्तगत अरुणखोला पुलमा बुधबार बिहान ४ बजे ट्रक ठोक्किँदा पुलमा क्षति पुगेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

पूर्वबाट पश्चिमका लागि छुटेको ना ६ ख ४७१ नम्बरको ट्रक ठोक्किँदा पुलमा क्षति पुगी करीब दुई मिटर तल लच्किएको छ ।

यसले गर्दा पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएको प्रहरी निरीक्षक अधिकारीले बताए । ट्रकसमेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भइरहेको उनले बताए।

ट्रक निकाले पनि पुलबाट ठूला सवारीसाधन आवतजावतमा समस्या हुनेछ । बिहान पुलमा क्षति पुगेपछि अहिले यात्रु बससमेत रोकिएका छन् । प्रहरीले पूर्वबाट आएका सवारीलाई यात्रु उतारे पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुनसक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरी सवारी सञ्चालनका लागि भनिएको छ ।

बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा सवारी रोकिएर लाम लागेको छ । साना सवारीलाई भने एकतर्फी रूपमा सञ्चालन गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्