वैज्ञानिक कुँवरलाई भौतिकशास्त्रमा सफलता

गलेश्वर – भौतिक विज्ञानमा स्थापित विभिन्न मान्यताहरुको अपूर्णताका विषयमा विभिन्न खोज तथा अनुसन्धान गर्दै आएका युवा वैज्ञानिक भविन्द्र कुँवरले हालै विज्ञानको अर्को जटिल समस्याको समाधान गरेका छन् ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा जन्मेका कुँवरले दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणको प्रयोगबाट पिण्डको चालमा हुने सबैखाले उतारचढावको सही मापन गर्न सकिने सुव्रत समीकरण पहिल्याएका हुन् ।

काठमाडौँ रिसर्च एण्ड पब्लिकेसन्समा गरिएको पछिल्लो परीक्षणबाट ती भौतिक शास्त्रीय परिमाणले सुक्ष्मदेखि स्थूल तहका सबै समयखण्डहरुमा एक्युरेट रिजल्ट दिन सक्ने थाहा हुन गएको हो ।

यसबाट भौतिक विज्ञानमा वर्षौँदेखि समाधान हुन नसकेर रहेको जटिल समस्या समाधान भएको छ ।
भौतिक विज्ञानमा समयको सबैभन्दा सानो मानिने प्लाङ्क समय एकाइदेखि योट्टा सेकेण्ड वा सोभन्दा ठूला तहमा हुने परिवर्तनलाई समेत पहिल्याउन सुव्रत समीकरणहरु सक्षम भएको देखिएको हो ।

हालसम्मका वैज्ञानिक अध्ययनले बढ्दो गतिमा भएका त्यति साना परिवर्तनहरुको वास्तविक मापन गर्न सकेको थिएन ।

आजसम्मका कुनै पनि वैज्ञानिक अनुसन्धानबाट भौतिकीले यति धेरै मसिना परिवर्तनहरुको वास्तविक मापन गर्ने बलियो आधार प्राप्त गर्न भ्याएको थिएन, विगत दुई दशकदेखि निरन्तर अनुसन्धान गरिरहेका वैज्ञानिक कुँवरले भने ।

कुँवरका अनुसार दुर्यान्तर र प्रदुर्यान्तरको अन्तर्निहित भूमिकाका कारण सबै तहमा हुने परिवर्तनको मापन गर्न सुव्रत समीकरणहरु सक्षम भएका हुन् ।

ती समीकरणहरुले पिण्डका अत्यन्तै साना खण्डका गतिविधि र परिवर्तनलाई सहीरूपमा मापन सक्छन् कि सक्दैनन् भन्ने कुराको खोजी गर्दै जाँदा सो तथ्यबारे थाहा हुन गएको हो, कुँवरले पछिल्लो अनुसन्धानको पृष्ठभूमिबारे स्पष्ट पार्दै भने ।

एकनासले बढ्दो गतिमा रहेको वस्तुले पार गरेको वास्तविक दूरीलाई सोही वस्तुकै गति वा वेगका आधारमा सही मापन गर्न सक्ने सूत्रहरु यसअघि नबनेको खोजकर्ता कुँवरले बताए ।

बढ्दो वा घट्दो गतिमा रहेको पिण्डले पार गरेको दूरीका आधारमा सुक्ष्म परिवर्तन थाहा पाउने वास्तविक उपाय फेला पार्न सकिएको थिएन, कुँवरले भने, “योट्टा सेकेण्डमा र सबैभन्दा सानो मानिने प्लाङ्क समय एकाइमात्र नभई तीभन्दा ठूला वा साना खण्डमा हुने परिवर्तनको अध्ययन गर्न पहिलेका सूत्रहरु सक्षम थिएनन् ।”

भौतिक विज्ञानमा सानोदेखि ठूलो समयान्तरालका चालसम्बन्धी समस्याका लागि सुव्रत समीकरणहरुको प्रयोग गरिँदै आएको देखिन्छ भने डिफ्रेन्सियल क्याल्कुलस र इन्टिग्रल क्याल्कुलसको प्रयोगबाट समेत त्यस्ता प्रयासहरु गरिएको देखिन्छ ।

तर सही समाधान निकाल्न नसकेका कारण ती सबै प्रयासहरु पाठ्यक्रममा रहे पनि अन्ततः प्रयासकै रुपमा प्रचलनमा आएको कुँवर बताउछन् ।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्