लेखा समितिको काम सुस्त, डिभिजन कार्यालयले परीक्षण रिर्पोट अझै बुझाएन

साउन १७ गते समितिको बैठकलाई भत्किएको सडकबारे जानकारी गराउदै इन्जिनियर न्यौपाने।

विराटनगर – सडक डिभिजन कार्यालय विराटनगरले मोरंगको बुढीगंगा गाँउपालिकादेखि विराटचौक खोर्सानेसम्म मर्मत गरेको सडकखण्डको परीक्षण जाँच रिपोर्ट अझैपनि सार्वजनिक लेखा समिति प्रदेश एकलाई बुझाउन सकेको छैन।

गत वैशाखमा पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत ५ दशमलव ६ किलोमिटरको सो सडकखण्ड डिभिजन कार्यालय विराटनगरले मर्मत गरेको थियो। १ करोड ८० लाख रुपैयाँमा मर्मत गरेको सो सडकखण्ड दुइ महिनाभित्रै भत्किएपछि स्थानीयले कमसल र गुणस्तरहीन सामग्री प्रयोग भएको जनाउदै विरोध गरेका थिए।

विज्ञापन

अनियमिततासँगै कमसल काम भएको जनाउदै सो विषयले प्रदेशसभामा समेत प्रवेश पाएको थियो। सोही क्रममा लेखा समितिले गत साउन १७ गते डिभिजन कार्यालयका प्रमुख इन्जिनियर सुभराज न्यौपानेलाई छानबिनका लागि बोलाएको थियो।

छानबिनका क्रममा न्यौपानेले सडक मर्मतका क्रममा गुणस्तरहीन र कमसल काम नभएको दाबी गरेका थिए। सोही क्रममा समितिले इन्जिनियर न्यौपानेसँग मर्मतको परीक्षण रिर्पोट माग गरेको थियो। तर हालसम्म सो रिपोर्ट न डिभिजन कार्यालयले बुझाएको छ न त लेखा समितिले दोह्रराएर पुनः माग गरेको छ।

आइतबार समितिले डिभिजन कार्यालयका इन्जिनियर न्यौपानेलाई बोलाएको थियो। तर, न्यौपाने काठमाडौँमा जारी सडक विभागको वार्षिक योजना तथा प्रगति विवरण कार्यक्रममा सहभागि छन्। उनी भन्छन्, ‘लेखा समितिका सभापतिले आइतबारलाई बोलाउनु भएको हो। तर म काठमाडौँमा कार्यक्रममा भएकोले उपस्थित हुनसकिन्। फेरि उहाँहरुले आधिकारीक रिर्पोट माग्नु भएको छैन। परीक्षण रिर्पोट कार्यालयका कर्मचारीलाई बुझाउन भनेको थिए।’

गतवर्ष माघमा इटहरीको गीताञ्जली, मुसुत र जोशी गरि तीनवटा निर्माण ब्यवसायी कम्पनीले सडक मर्मत गरेको हो। यसअघि समितिका पदाधिकारीलाई समेत भत्किएको सडकखण्डको स्थलगत निरीक्षण समेत गराइसकेको बताएका इन्जिनियर न्यौपाने मर्मतका लागि तीनवटै कम्पनी तयार रहेको स्पस्ट पार्छन्।

अर्कोतर्फ, पूर्ननिर्माण भएको सडक भत्किएको बताएका समितिका सभापति गन्गाईले भने, ‘बाटो भत्किएकै हो। गुणस्तर काम भएको भन्दै स्थानीयको रिपोर्ट आएको छ। अनुगमन गरेसँगै प्रतिवेदन पेश गरिएको छ।’

गुणस्तरका लागि जाँस पास रिर्पोट मागेको बताएका समितिका सभापति गन्गाईले कार्यालयका पदाधिकारीलाई अर्को बैठकमा बोलाउने निर्णय गरेको बताए। तथापि हालसम्म सो रिपोर्ट समितिले प्राप्त गर्न सकेको छैन। त्यसैगरि सभापति गन्गाईले भने झै समितिले बैठकको मिति सार्वजनिक गरेको छैन।

सो सडकखण्ड अन्तर्गत कालोपत्रेमाथि पुनः २५ एमएमको थप कालोपत्रे विछ्याएको थियो। यस क्रममा बाँसवारी चौक, विराट चौक, गछिया, खोर्साने लगायतका स्थानमा सुख्खामा धुलाम्य र वर्षामा पानी जमेर सडक विग्रिसकेको छ। डिभिजन कार्यालयले यसपटक वर्षा अधि भएको र पानीको निकास हुननसक्दा मर्मत गरेको सडक भत्किएको दाबी गर्दै आएको छ।

 

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्