विकासमा ब्रह्मलुट

१० करोडको लागतमा निर्मित सडक एक महिनामै भत्कियो

धनगढी – १० करोडको लागतमा निर्माण गरिएको कैलालीको धनगढी उप महानगरपालिका वडा नम्बर–३ को चक्रपथ एक महिनामै भत्किएको छ ।

यहि असारमा मात्रै निर्माण सम्पन्न भएको सडक एक साता पछि ठाउँठाउँमा उप्किने र भाँसिन शुरु भएको छ । यसरी निर्माण सकिएको एम सातामै सडक बिग्रिएपछि स्थानीयले पुर्न निर्माणको माग गरेका छन् ।

केएस कन्ट्रक्सन, लुम्बीनी कन्ट्रक्सन र जेभी राजेन्द्र निर्माण सेवाले २०७४ साल असार मसान्तमा सडक निर्माणका लागि संयुक्त ठेक्का पाएका थिए । झण्डै ९ किलोमिटर सडक निर्माणका लागि प्रतिकिलोमिटर १ करोड २ लाख रुपैंयाका दरले सडक निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अबधि भित्रै सडक निर्माण सम्पन्न गरेको भएपनि सम्पन्न भएको एक महिना नहुँदै सडक ठाउँठाउँमा फुट्ने तथा उप्कीने र खाल्डा पर्ने गरेको छ । यसैगरी सडकमा निर्माण गरिएको नाली समेत ठाउँ–ठाउँमा भत्किएको छ । स्थानीय हिक्मत विष्टले सडक निर्माण गरिएको एक साता नबित्दै भत्कन सुरु भएको सडकको अधिकांश क्षेत्रमा खाल्डा परेका र नाली पनि भत्किएको बताए । उनले भने–‘ठेकदारले माटो भरान गर्ने बित्तिकै पिच गर्न सुरु ग¥यो, जसका कारण सडक कमजोर बनेको छ ।’

ठेकदारले एक पटक फुटेको सडक मर्मत गरेपनि सोही ठाउँमा दोश्रो पटक पनि भत्किन सुरु भएको उनले बताए । अर्का स्थानीय दिपक ढंगालले करोडौ खर्च गरेर निर्माण गरिएको सडक कमजोर बनाएकोे बताए । उनले भने –‘सडकसँगै निर्माण गरिएको नाला आधा भन्दा बढी स्थानमा बिग्रेको छ, सडकमा कतै खाल्डा परेका छन् भने कतै सडक भाँसिन थालेको छ ।’

सकारी कर्मचारीले पनि ठेकदारसँग मिलेर भत्केको सडकको वास्ता नगरेको स्थानीयको आरोप छ । सडकको अनुगमन गर्न एक पटक पनि सरकारी कर्मचारी नआएका कारण ठेकेदारले काममा लार्पवाही गरेको स्थानीयले बताए ।

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर दिनेश श्रेष्ठले सडकको जिम्मा अझै एक वर्ष ठेकदारकै हुने भएकाले वर्षापछि मर्मत गर्न लगाइने बताए । ‘पानी निकासका लागि ह्युमपाइप विच्छ्याइएका तथा माटो भरान गरेका ठाउँमा सडक भत्केको तथा भाँसिएको छ’ इन्जिनियर श्रेष्ठले भने–‘त्यस्ता ठाउँमा हामी वर्षा सकिएपछि मर्मत गर्न लगाउँछौं ।’ सडक निर्माणका क्रममा स्थानीयले विरोध गरी समयमै काम गर्न नदिएका कारण कमजोर माटो भएर पनि सडक भाँसिएको हुन सक्ने उनले बताए ।

केही ठाउँमा भने ठेकदारको पनि लार्पवाही हुन सक्ने भएकाले त्यसको छानबिन गरिने इन्जिनियर श्रेष्ठले बताए । उनले भने–‘सडकको स्तर खस्केमा ठेक्काबाट कटौती गरेर राखेको १० प्रतिशत धरौटी रकम जफत हुन्छ, त्यसैले पनि ठेकदारले सो सडक निर्माण गर्नै पर्छ ।’ उनले अन्य सडकको तुलनामा वडा नम्बर–३ मा निर्माण गरिएको चक्रपथमा ठुला सवारी गुड्न सक्ने हुँदा पिचको मोटाई बढाएर ३० एम.एमबाट ४० एम.एम पुर्‍याइएको बताए ।

सडक निर्माणको जिम्मा पाएको के.एस कन्ट्रक्सनका साईड इन्चार्ज बिक्रम स्वारले अहिल्यै सडकको काम पुरा नभइसकेको बताए । उनले अहिले भत्केको सडकलाई वर्षापछि मर्मत गर्न आफूहरु तयार रहेको बताए । तर सडक निर्माणका क्रममा केही स्थानमा कमजोरी भएको हुनसक्ने उनले स्वीकारे ।

उनले केही स्थानमा पर्खाल आवश्यक पर्ने तथा नाला नभई नहुने देखिएका कारण थप बजेटका लागि शहरी विकास कार्यालयसँग बजेट थप्न आग्रह गरिएको समेत बताए ।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्