स्कुल विभागलाई लिएर नेकपामा झन झगडा, निष्कर्षविहीन हुने संकेत

काठमाडौँ –स्कुल विभागलाई लिएर पूर्व एमालेभित्र व्यापक विवाद भएपछि बुधबार तीन बजेका लागि डाकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक निष्कर्ष विहीन हुने आशंका बढेको छ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचार गरेर सिंगापुरबाट फर्किएकै भोलिपल्ट अर्थात साउन २८ गतेका लागि तोकिएको बैठक पहिले आन्तरिक छलफल गर्ने र आज अर्थात बुधबार बैठक डाक्ने जानकारी ओलीले सचिवालय सदस्यहरुलाई दिएका थिए।

तर मंगलबार उनले पूर्व एमालेका नेताहरुलाई बोलाएर गरेको छलफल निष्कर्ष विहीन बनेपछि आजको बैठक कि बस्दै नबस्ने, बस्यो भने पनि निष्कर्ष विहीन हुने सचिवालयका एक सदस्यले बताएका छन्।

मंगलबार पूर्व एमालेसँगै पूर्व माओवादीले पनि छुट्टै छलफल गरेको थियो। छलफलमा सहभागि एक नेताका अनुसार स्कुल विभागको नेतृत्वको विषय पूर्व माओवादी भन्दा पूर्व एमालेमा पेचिलो बनेको छ ।

स्कुल विभाग पूर्व एमाले नेता ईश्वर पोखरेललाई दिने की पूर्व माओवादी नेता नारायणकाजी श्रेष्ठलाई दिने भन्नेमा विवाद झन गहिरिदै गएको हो। त्यो विवाद कायमै रहेका बेला स्कुल विभागको नेतृत्व लिन चाहाने अन्य नेताहरुको संख्या समेत बढेपछि नेतृत्वलाई त्यो टुंग्याउन मुस्किल परेको छ ।

पूर्व एमालेका एक नेताले देशसञ्चारसँग भने,‘ हामीले माओवादीलाई दोष दिनु बेकार छ , झगडा हामीमै धेरै छ । झन अनिश्चित भयो एकता प्रक्रिया।’ नेकपाका ३३ विभाग मध्ये स्कुल विभागमा सबैभन्दा बढी विवाद भएपछि नेकपाको पार्टी एकताका अन्य बाँकी काम पनि अघि बढ्न सकेको छैन।

पार्टी एकता प्रक्रिया लम्बिदै जाँदा पार्टी पंक्तिमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै नेकपाका केही प्रभावशाली नेताहरुले नेतृत्वलाई काम छिटो अघि बढाउन दबाब दिइरहेपनि त्यो कार्यान्वयन हुन सकेको छैन।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्