पोखराका ११ वडा कार्यालयमा शृंखलाबद्ध चोरी गर्ने थापा पक्राउ

पोखरा – पोखरा महानगरपालिकाका वडा कार्यालयमा चोरी गरेको आरोपमा २ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

वडा कार्यालयमा शृंखलाबद्ध चोरी भएको १ वर्षपछि प्रहरीले काठमाडौँ ११ निवासी ५१ वर्षीय किशोर थापालाई पक्राउ गरेको हो । चोरीको सामान किन्ने काठमाडौँ १४, कंलकीस्थित कम्प्युटर सोलुसनका सञ्चालक ३६ वर्षीय रुपचन्द्र गोपालीलाईसमेत पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

०७५ जेठ २ गते वडा नम्बर १२ को कार्यालय फोरेर थापाले चोरी आंतक मच्चाउन सुरु गरेका थिए । उनले पछिल्लोसमय साउन २१ गते वडा नम्बर ६ को कार्यालयमा चोरी गरेको प्रहरीले जनाएको छ ।

त्यसबीचमा मात्रै ११ वटा वडा कार्यालयबाट १७ थान विभिन्न ब्रान्डका मोनिटर, ९ थान सिपियु र ३ थान ल्यापटप चोरी भएको थियो ।

यसरी पक्राउ परे थापा


चोर पक्राउ पर्न नसके पनि सबै वडा कार्यालयमा भएको चोरीको प्रकृति हेर्दा एउटै समूह भएको जिल्ला प्रहरी कार्यालय कास्कीको आंकलन थियो । सिसी क्यामेरामा कैद भएको भिडियो फुटेजको आधारमा प्रहरीले यकीन गरेको थियो कि चोर एउटै हो । अन्नतः थापालाई पक्राउ गर्न प्रहरी टोलीले भिडियोलाई नै आधार बनायो ।

थापाको भिडियोमा देखिएको जिउडालको आधारमा सहिद चोकबाट प्रहरीले उनलाई नियन्त्रणमा लिई केरकार गर्न सुरु गरिएको थियो । आइतबार दिउँसो सहिद चोकमा मोबाइल चलाइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।

पोखरा १० कालिका चोक बस्दै आएका थापाको कोठामा समेत प्रहरीले छापा मारेको छ । कोठामा चोरी गर्न प्रयोग हुने छड, ताला काट्ने धारिलो वस्तु लगायत सामग्री फेला परेको एसपी कार्कीले जानकारी दिए ।

चोरी सामग्री कोठामा फेला नपरेपछि आइतबार नै अनुसन्धानको टोली काठमाडौँतर्फ लागेको थियो । काठमाडौँ कंलकीमा कम्प्युटर व्यवसायी गर्ने गोपालीले उक्त सामग्री खरिद गर्ने तथ्य खुलेपछि उनलाई पक्राउ गरी पोखरा ल्याइएको हो ।

थापा यसअघि पनि डाँकाचोरी मुद्दामा ५ वर्ष विसं २०४६ देखि २०५२ सम्म केन्द्रीय कारागारमा सजाय भुक्तान गरेका थिए । त्यसपछि पनि पुनः ३ वर्ष चोरी मुद्दामा नै केन्द्रीय कारागारमै २०७१ देखि ०७४ सम्म सजाय भोगेका थिए ।

उनको साथबाट लागु औषध समेत बरामद भएको प्रहरीले जनाएको छ । थापालाई चोरी तथा लागु औषध र चोरीका सामान खरिद गर्ने गोपालीलाई चोरी सम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरिएको एसपी कार्कीले बताए ।

उनीहरुबाट केही थान ल्यापटप, कम्प्युटर लगायत विद्युतीय सामग्री बरामद गरिएको छ । हजारौँ नागरिकका व्यक्तिगत विवरण रहेका वडा कार्यालयकै ल्यापटप, कम्प्युटर चोरी हुँदै आएपछि महानगरकै समग्र सेवा प्रवाहमा समस्या हुँदै आएको थियो ।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्