जम्मू–कश्मीरका राज्यपाललाई राहुल गान्धीको जवाफ–जहाज चाहिँदैन, म कहिले आउँ?

काठमाडौँ – जम्मू–कश्मीरको सुरक्षा अवस्था तथा सर्वसाधारण नागरिकमाथि लगाइएको बन्देज र स्थानीय नेताहरुलाई गरिएको पक्राउप्रति कडा आपत्ति जनाउँदै आएको भारतीय कांग्रेसले सो क्षेत्रको अवलोकनका लागि विपक्षी नेताहरुको टोली जान पाउनु पर्ने बताउँदै आएको छ ।

कांग्रेस नेता राहुल गान्धीले जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकसँग आफूसहितका विपक्षी नेताहरुको अनुगमन भ्रमणको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

त्यसको जवाफमा जम्मू–कश्मीरका राज्यपाल सत्यपाल मलिकले ‘जहाज पठाउँछौँ, आउनुस्, अनुगमन गर्नुस्’ भनेर जवाफ दिएका थिए । राहुलले ट्वीट मार्फत गरेको आग्रहमा मलिकले ट्वीट मार्फत नै जवाफ दिएका हुन् ।

राज्यपाल मलिकको जवाफबाट सन्तुष्ट नभएका कांग्रेस नेता गान्धीले बुधबार पुनः ट्वीट मार्फत नै ‘कहिले आउँ ?’ भनेर सोधेका छन् । राहुलले आफूहरुका लागि जहाजको व्यवस्था गर्नु नपर्ने तर यात्रा र स्थानीय बासिन्दासँग भेट्न पाउने स्वतन्त्रता, स्थानीय नेताहरु तथा सुरक्षाकर्मीहरुसँग भेट गर्न पाउने व्यवस्था गरिनु पर्ने बताएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘प्रिय मलिक जी, तपाईँले मेरो ट्वीटमा गर्नु भएको कमजोर रिप्लाई हेरेँ । मलाई तपाईँको निम्तो स्वीकार छ, बिना कुनै शर्त जम्मू–कश्मीर आएर सर्वसाधारणसँग भेट्ने चाहना छ । म कहिले आउन सक्छु ?’

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्