निर्मला प्रकरणमा परराष्ट्रमन्त्रीको टिप्पणीः एकाध घटनालाई लिएर तमाम उपलब्धीलाई छायामा नपारौँ

काठमाडौँ – लगातारको प्रयासका बाबजुद न्यायीक दायरामा समेट्न नसकिएका महिला हिंसासँग सम्बन्धित एकाध घटनालाई भएका तमाम उपलब्धीहरु नै छायामा पर्ने गरी प्रस्तुत नगर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आग्रह गरेका छन् ।

लैंगिक न्याय तथा समानता र प्रतिनिधित्वको सवालमा नेपालमा संवैधानिक रुपमा नै अन्तर्राष्ट्रिय स्तरमा गर्व गर्न लायक उपलब्धी हाँसिल भएको पृष्ठ भूमिका केही घटनाहरुको न्यायीक प्रक्रियामा प्रयासकै बाबजुद पनि ढिलाई भएको या सफलता पाउन नसकिएको स्वीकार गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘तर ती एकाध घटनालाई त्यो रुपमा प्रस्तुत गरिनु उपयुक्त हुँदैन जस्तो लाग्छ ।’

परराष्ट्रमन्त्री ज्ञवालीले बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तले एक वर्ष बित्दा पनि न्याय नपाएको सन्दर्भसँग जोडेर लगातार खट्दा पनि केही कारणले हालसम्म दोषी पत्ता लाग्न नसकेको तर सरकार न्याय दिलाउनका लागि प्रतिबद्ध रहेको बताए ।

महिला अधिकारका क्षेत्रमा काम गर्दै आएको साथी संस्थाले बुधबार ललितपुरमा गरेको लैंगिक समानता र महिला सशक्तिकरण र सन् २०२० को सन्दर्भमा नेपालमा यसको अर्थ विषयक परामर्श कार्यक्रममा सहभागी भएका परराष्ट्रमन्त्री ज्ञवालीले राजनीतिक, संवैधानिक तथा सामाजिक न्यायका सम्बन्धमा नेपालले महिलालाई केन्द्रमा राखेर गरेका सकारात्मक प्रयासहरु विश्वस्तरमै गर्व गर्न लायक रहेको बताए । अन्तर्राष्ट्रिय फोरमहरु भएका उपलब्धीहरुलाई छायामा पार्ने खालका सन्देश प्रवाह हुन नहुने बताएका छन् ।

उनले भने, ‘सरकार निर्मला पन्तसहितका सबैले न्याय पाउनु पर्छ भनेर घनिभूत रुपमा लागि परेको छ । न्यायमा कुनै कसर बाँकी राखिने छैन । तर हामीले यो समयमा अरु राम्रा उपलब्धीहरु पनि हाँसिल गरेका छौँ, ती कुराहरुलाई एकाध घटनाले छायामा पार्नु हुँदैन भन्ने मात्रै हो ।’

सन् २०२० महिला अधिकारका क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व राख्ने संयुक्त राष्ट्रसंघका विभिन्न निकाय तथा प्रतिबद्धताहरुमा भएको प्रगति तथा चुनौतिहरुको पुनरावलोकन गर्ने महत्वपूर्ण वर्ष बन्दै गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुँदा नेपालले आफ्ना उपलब्धीहरुलाई संगठित रुपमा प्रस्तुत गर्न पर्छ भन्ने जोड दिनका लागि कार्यक्रम आयोजना गरिएको संयुक्त राष्ट्रसंघ अन्तर्गतको सिड कमिटिकी उपाध्यक्ष बन्दना राणाले बताइन् ।

आउँदो वर्ष बेइजिङ्ग सम्मेलनको २५ औँ वर्ष, दीगो विकास लक्ष्य सुरु भएको पाँच वर्ष, युएनएससिआर १३२५ को २० वर्ष तथा सिडको ४० औँ वर्ष र आसिपिडीको २५ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम हुँदै छन् ।

बुधबारको कार्यक्रममा सहभागी युएनएफपिएकी नेपाल प्रतिनिधि लुब्ना बाक्इ र युएन वुमनकी नेपाल प्रतिनिधि वेन्नी कुसुमाले महिला अधिकार तथा लैंगिक समानताको क्षेत्रमा नेपालको उपलब्धी राम्रो रहेको तर गर्नु पर्ने अझै धेरै बाँकी भएको बताए ।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्