अदालतको आदेशमा एक महिनापछि खुल्यो नगरपालिकामा लागेकाे ताल्चा

जनकपुरधाम– जनप्रतिनिधिहरु बीचको विवादका कारण विगत एक महिनादेखि हंसपुर नगरपालिकामा लागेको ताल्चा खोलिएको छ।

उच्च अदालतले कार्यालय सञ्चालनमा ल्याउन आदेश दिएपछि बुधबार नगरपालिकाको ताल्चा खोलिएको छ।

नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले बघचौडामा काम गर्ने वातावरण नरहेकाे भन्दै बेल्ही चोकमा गत साउन ३ गते अस्थायी कार्यालय सारेका थिए।

बघचौडास्थित कार्यालयमा रहेको कागजात तथा फाइलहरु प्रमुख मण्डलले नयाँ कार्यालयमा सार्न खोजेपछि आफूले साउन ३ गते राति ११ बजे सो कागजातहरुको सुरक्षाका लागि ताल्चा लगाएको उपप्रमुख रेणु झाले बताइन्।

उनले नगरपालिकाका अधिकृत हरिशंकर यादव, प्रशासनिक अधिकारी तथा पत्रकारहरुको रोहवरमा ताल्चा खोलेकी हुन्।

उच्च अदालत जनकपुरले बघचौडामै तत्कालका लागि कार्यालय सञ्चालनमा ल्याउन अन्तरिम आदेश दिएपछि आफूले ताल्चा खोलेको उपप्रमुख झाले बताइन्।

उच्च अदालत जनकपुरले अर्काे आदेश  नभएसम्मका लागि कार्यालय यथास्थितिमै राख्न मंगलबार आदेश दिएको थियो।

यसअघि प्रमुख रामज्ञान मण्डलले बेल्ही चोकस्थित कार्यालय सञ्चालनमा ल्याएपछि कर्मचारी साबिकको कार्यालयमा उपस्थित नभई बेल्ही चोकमै उपस्थित हुँदै आएका थिए।

नगरपालिकाका अधिकृत हरिशंकर यादवले अदालतले आदेश दिएपछि आफूहरू आदेशको सम्मान गर्दै बघचौडास्थित कार्यालयमा उपस्थित भई कामकाज सञ्चालनमा ल्याएको बताए।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्