जनै संरक्षण अभियानमा जरोकिलो

जनैको आयात रोक्न परम्परागत विधिलाई प्रोत्साहन

काठमाडौं- विदेशमा यन्त्रमा बनेका जनै (यज्ञोपवीत) लाई निरुत्साहित गर्ने उद्देश्यले परम्परागत ढङ्गबाट नेपालमै व्यावसायिक रुपमा बनाउन थालिएको छ। गतवर्ष वार्षिक रु एक अर्बको जनै आयात गरिएको समाचार सार्वजनिक भएपछि रैथाने चीजबीजको संरक्षणमा जुटेको जरोकिलो प्रतिष्ठानको अग्रसरतामा परम्परागत तरिकाले जनै बनाउने तालीम दिइएको थियो।

विदेशबाट आयात गरिने जनै यन्त्रमा बन्ने भएकाले संस्कृति संरक्षण नहुने भएकाले मौलिक विधिलाई संरक्षण गर्न दुई जना प्रशिक्षकबाट तालीम दिइएको प्रतिष्ठानका सदस्य सुशील गौतमले राससलाई जानकारी दिए।

परम्परागत तरिकाबाट जनै बनाउँदा काठको यन्त्र र कतुवाको प्रयोग गरिन्छ। परम्परागत विधिबाट जनै बनाउन समय लाग्ने भएकाले एकप्रतिको रु १५ मा बेच्ने गरिएको उनले बताए। प्रतिष्ठानले सहृदयता उद्यमशीलता प्रालि नामक कम्पनी नै खोलेर जनै बनाउने व्यवसायलाई संरक्षण गर्न थालेको छ।

यसरी बनाइएको जनैको माग देश, विदेशमा हुन थालेको छ।व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कमा गत वर्ष चीनबाट समेत जनै आयात गरिएको सार्वजनिक भएको थियो। केन्द्रले भने जनै आयात भए पनि रुपैयाँ नै तोकेर सार्वजनिक भएको तथ्याङ्क आधिकारिक नभएको जनाएको छ।

केन्द्रका सूचना अधिकारी शान्तिदेवी मल्ल शिखा (पवित्र गाँठो) बनाइएको जनै पूजाका लागि आयात हुने गरे पनि त्यसको वास्तविक तथ्याङ्क भने नभएको उनले सुनाए। कपडा र धागोसँगै जनै पनि आयात हुने भएकाले कतिको आयात भएको हो भनी भन्न नसकिने केन्द्रले जनाएको छ।

उपनयन संस्कार अर्थात् व्रतबन्ध गरेपछि तागाधारीले जनै टुटाउन नहुने शास्त्रीय विधि छ। ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णलाई शास्त्रीय रुपमा जनै लगाउने अधिकार रहेको धर्मशास्त्रविद् प्रा.डा.रामचन्द्र गौतम बताए।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनै फेरिन्छ। यस दिनलाई जनै पूर्णिमा पनि भनिन्छ। जनैपूर्णिमामा फेरिएको जनैको अवधि चार महीना मानिन्छ। चार महीनापछि अर्को जनै फेर्नुपर्ने व्यवस्था शास्त्रमा गरिएको छ।

मानिस जन्मिएको र मरेको कर्म सिध्याउने बेलामा जुठो सुतक लाग्ने दाजुभाइले जनै फेर्नुपर्छ। मलामी गएर फर्किएपछि स्नान गरी नयाँ जनै फेरिन्छ। जनै पहिले घरमै तयार पारिन्थ्यो। हाल घरमा जनै बाट्ने मानिस भेट्न मुस्किल छ। थोरै सङ्ख्यामा मात्र मानिसले जनै बनाउने गरेका छन्।

वैदिक र तान्त्रिक विधिअनुसार गरिने धार्मिक काममा चढाउन पनि यसको प्रयोग गरिन्छ। पछिल्लो समय जनै बाट्ने प्रचलन हराउँदै गएको छ। घरमा जनै बनाउन छोडेपछि यन्त्रले बनाएको जनैको आयात विदेशबाट हुन थालेको थियो।

नेपालमा चाहिने जति जनै यहीँ बन्न नसकेपछि विदेशबाट आयात हुने गरेको हो। चीनबाट मात्र नभई भारतबाट समेत जनैको आयात हुन्छ। नेपाली युवा भने कामका लागि दैनिक दुई हजारभन्दा बढीको सङ्ख्यामा विदेशिन्छन्। विदेसिएका युवाले ४० डिग्रीभन्दा बढी तापक्रम भएका स्थानमा काम गर्न बाध्य छन्।

जनै बाट्नेजस्ता परम्परागत काममा सम्मान र पारिश्रमिक दुवै कम हुने भएकाले यसप्रति युवा पुस्ताको ध्यान जान नसकेको कर्मकाण्ड पेशामा संलग्न ज्ञानप्रसाद तिमल्सिना बताउँछन्। घरमा बनाएको जनैभन्दा विदेशबाट यन्त्रमा उनेर ल्याइएका जनैको मूल्य सस्तो भएपछि यो पेशा अपनाउनेको सङ्ख्या घटेको उहाँको भनाइ छ।

सामान्यतया यन्त्रमा बनाएर बजारमा बिक्री हुने एउटा जनैको मूल्य रु पाँचदेखि १० सम्म पर्छ। घरमै बनाइने जनैको रु १५ देखि २०सम्म पर्ने गरेको छ। घरमा बनाएको जनैको केही बढी पर्ने भएकाले पनि घरेलु उद्योग धराशायी भई आयात बढेको हो।

स्थानीय सरकारले यसमा सहुलियत दिने, नयाँ पुस्तालाई पुरानाबाट जनै निर्माण कला सिकाए आयात घटाउन सकिने कागेश्वरी मनोहरा नगरपालिका–६ का पण्डित राजेन्द्रप्रसाद सापकोटा बताए।

आफूले वार्षिक एक हजारसम्म जनै बनाई रु १५ देखि २० सम्ममा बिक्री गर्ने गरेको उनले सुनाए। प्रतिष्ठानले भने यस वर्ष प्रत्यक्षरुपमा १५ जना र श्रव्यदृश्यका माध्यमबाट ३६ जनालाई तालीम दिएर परम्परागत तरीबाट जनै बनाएको जनाएको छ।

जनै बनाउने शास्त्रीय विधि


तागाधारी परिवारकी महिलाले कपासबाट धागो बनाउनुपर्ने र धागो बाटेर विधिपूर्वक जनै बनाउने विधि छ। यन्त्रमा बनाएको जनैमा यो विधि पूरा हुँदैन। धागोलाई दुईपटक तेब्रयाएर छ डोराको बनाउनुपर्ने धर्मशास्त्रविद् गौतम बताए। तीन डोराको एउटा शिखा बनाउनुपर्छ। अर्को तीन डोराको अर्को शिखा गरेर दुई शिखा बनाउने विधि हुन्छ।

शिखामा ब्रह्मा, विष्णु र महेश्वरको वास हुने धार्मिक विश्वास छ। जनै मन्त्रँदा शिखामा तीनै जना देवता, अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ब्रह्म तेज पैदा गर्ने बनाउनुपर्छ। यसरी बनाइएको जनैले नै शास्त्रमा वर्णन गरेबमोजिमको फल दिन्छ।

रक्षाबन्धन आयात


जनैमात्र होइन, जनै पूर्णिमाकै दिन हातमा लगाइने रक्षाबन्धनअर्थात डोरो पनि तयारी नै आउँछ। जनैपूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बी सबैले दाहिने हातमा डोरो लगाउँछन्।

रक्षाबन्धन विवाह, व्रतबन्ध, नामकरण, होम, आदि कर्ममा पनि वैदिक मन्त्रोच्चारणसहित विधिपूर्वक मन्त्रेर लगाइन्छ। नारायण कवच समेत पाठ गरेर रक्षाबन्धन पूजा गरिन्छ।

पछिल्लो समय कर्मकाण्ड गर्नेले पनि काँचो धागो किनेर रक्षाबन्धन बनाउने झञ्झट गर्दैनन्। विदेशबाट रङ्ग्याएर आयात गरिएको डोरो किनेर जजमानको हातमा बाँधिदिन्छन्।

रक्षाबन्धन मानव जाति सबैले लगाउनुपर्ने शास्त्रीय वचन छ। यो विधि पूरा गर्नुपर्ने रक्षाबन्धनसमेत विदेशबाट आयात हुँदा शास्त्रसम्मत नहुने धर्मशास्त्रविद्को मत छ।

घरमै हस्तकलाका माध्यमबाट बनाउन सकिने धेरै सामानको आयात बढ्न थालेको छ। यस्ता सामग्रीको निर्माणमा प्रोत्साहन नगरिँदा वार्षिक अर्बौं रुपैयाँ विदेशिन्छ। घरेलु उद्योगलाई सहुलियत दिए यस्तो आयात घटाउन सकिने प्रतिष्ठानले जनाएको छ। पूर्णप्रसाद मिश्र

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्