कास्की कारागारका ८ सयबन्दी जाँच्ने एक्ला स्वास्थ्यकर्मी

कास्की कारागारका जनस्वास्थ्य निरीक्षक विष्णुप्रसाद सुवेदी कार्यकक्षमा।तस्बिरः ईश्वर देवकोटा÷देश सञ्‍चार

पोखरा-जिल्ला कारागार कास्कीमा गत साता भाइरल ज्वरो फैलियो। ‘ए’ ब्लकमा झन्डैं ८० जनाभन्दा बढी बन्दीमा देखिएको भाइरल ज्वरो त्यसको भोलिपल्ट ‘बि’ ब्लकमा पनि सल्क्यो।श्वासप्रस्वास, ज्वरो, रुघाखोकी, वान्ता जस्ता समस्याले सम्पूर्ण कारागारलाई नै बिरामी बनायो।‘बि’ ब्लकका थप ७० जनामा संक्रमण देखियो।उसो त कास्की कारागारमा क्षमताभन्दा दोब्बर बन्दी छन्।

कारागारका ‘ए’ र ‘बि’ गरी पुरुषका २ ब्लक छन्।जसको क्षमता बढीमा ४ सय हो।महिलाको लागि २० जना क्षमताको अर्को एउटा ब्लक छ।ब्लक ‘ए’ मा बुधबारको बन्दीको संख्या ३ सय ७४ छ।‘बि’ मा ३ सय ७८ जना छन्।महिला ब्लकमा भने ५७ छन्।८ सय ९ बन्दी भएको कास्की कारागार भौतिक पूर्वाधार अभावका कारण आफैं रोगी छ।त्यसमाथि सामान्य रुघा, ज्वरो एउटा ब्लकमा राखिएका बन्दीमा देखियो भने अर्कोमा सल्कन बेरै लाग्दैन।

उपचारका लागि छुटै कक्षको व्यवस्था छैन।ठूलो संख्यामा कोचेर बन्दी राख्नुपर्ने बाध्यताका बीच स्वास्थ्य उपचारको सवाल झन् जटिल छ।८ सय बढी बन्दीलाई स्वास्थ्य चेकजाँच र औषधीमुलो गर्दै आइरहेका जनस्वास्थ्य निरीक्षक विष्णुप्रसाद सुवेदी कास्की कारगारका एक्ला स्वास्थ्यकर्मी हुन्।हप्ताअघिको भाइरल ज्वरोको संक्रमण उनले एक्लैले नियन्त्रण गर्न हम्मे पर्‍यो।बुधबारको चेकजाँचमा ४० जनालाई सामान्य संक्रमण देखिएको छ।पूरै नियन्त्रणमा आउन केही समय लाग्ने उनी बताउँछन्।

स्वास्थ्य जस्तो संवदेनशील विषयलाई कारागारमा पुरै बेवास्ता गरिँदै आएको छ।एकजना मात्रै स्वास्थ्यकर्मीलाई सबै जिम्मेवारी दिँदा माहामारी जस्ता संक्रमण फैलिसकेपछि कारागार नै अस्तव्यस्त हुने स्थिति आउँछ।

‘पुरानोमध्येको कास्की कारागार पर्छ।यति धेरै कैदी तथा थुनुवाको संख्या छ,’ जनस्वास्थ्य निरीक्षक सुवेदीले भने, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी संख्या बढाएर स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने हो।अहिलेसम्म चासो दिइएको छैन’।

क्षमताभन्दा बढी भएपनि कैदीहरु मिलेर बसेका कारण अप्रिय जटिलता भोग्नु नपरेको उनले सुनाए।तर स्वास्थ्य समस्या देखिँदा भने जनशक्तिकै अभावका कारण सकस परिरहेको उनको गुनासो छ।‘भएको दरबन्दीसमेत घटुवामा परेपछि आश्चार्य लाग्यो।हेल्थ असिस्टेन्टमा १ जनाको दरबन्दी थियो।त्यहीँ पनि घटाएर अहेबको दरबन्दी कायम गरिएछ ।’

हेल्थ असिस्टेन्टको दरबन्दीमा ९ वर्षअघि देखि कास्की कारागारमा स्वास्थ्य सेवा दिँदै आएका सुवेदी हाल जनस्वास्थ्य निरीक्षकमा बढुवा भइसकेका छन्।‘पहिले पो बन्दी संख्या थोरै थियो।अहिले त्यो अवस्था छैन।कम्तिमा पनि प्राथमिक स्वास्थ्योपचार दिन सक्ने क्षमता कारागारमा बनाउन पर्छ,’ उनले भने।

दरबन्दी बढाएर एमबिबिएस डाक्टर, स्टार्फ नर्स, हेल्थ असिस्टेन्ट र ल्याबमा १÷१ जना तत्कालका लागि आवश्यक भएको उनले बताए।गाउँतिर सञ्चालनमा आएका स्वास्थ्य चौकीमा समेत डाक्टर, नर्स, ल्याबको व्यवस्था गरिरहँदा कारागारलाई बेवास्ता गर्न नहुने उनी सुनाउँछन्।

कारागार व्यवस्था विभागले कास्की कारागारमा रहेका बन्दी संख्याको आधारमा स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिदिए सहज हुने जेलर गणेश गौतमले बताए।‘४० जना बन्दी रहेको कारागारमा पनि अहेब, ८ सय जना भएको कारागारमा पनि १ जना अहेब अप्र्याप्त छ,’ उनले भने, ‘एउटै खालको दरबन्दी सिर्जनाले समस्या भएको छ।’

कारागारमा २४ घन्टा स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने हुँदा स्तरअनुसारको दरबन्दी कायम गरिनुपर्ने जेलर गौतमको भनाइ छ।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्