वैवाहिक बलात्कारकाे मुद्दामा प्रहरीले घटनास्थल परिवर्तन गरेकाे आराेप

महेशका बुवाआमा पत्रकार सम्मेलन गर्दै।

नेपालगञ्ज– वैवाहिक बलात्कार, कुटपिट र अङ्गभंग सम्बन्धी एक मुद्दामा प्रहरीले घटनास्थल नै परिवर्तन गरेको आराेप लागेकाे छ।

कैलालीमा भएको भनिएको घटनालाई प्रहरीले बाँकेको कोहलपुरमा भएको मुचुल्का बनाएको हो।

घरपरिवारका अनुसार, प्रहरी अहिलेसम्म घरमा पुगेको छैन। घरमै नआएर प्रहरीले कैलालीमा भएको घटनालाई बाँकेमा भएको मुचुल्का बनाएको छ।

कोहलपुर–२, सिद्धनगरका ३० वर्षीय महेश र ३२ वर्षीया दुर्गा (दुवैको नाम परिवर्तन) ले २०७५ कात्तिक २० गते प्रेम विवाह गरे। घरपरिवारलाई थाहा नदिएर उनीहरु भागे।  कैलालीको धनगढी–१३, राजपुरमा कपडा पसल गरेर बसे। केटाका बुवाका अनुसार, विवाह गरेपछि छोराबुहारी एकपटक पनि घरमा आएका छैनन्।

गत असार १३ गते दुर्गाले इलाका प्रहरी कार्यालय, कोहलपुरमा वैवाहिक बलात्कार र कुटपिट अङ्गभंगको जाहेरी दिइन्। वैशाख ८ गतेको घटना उनले ६५ दिनपछि श्रीमानविरुद्ध जाहेरी दिएको देखिन्छ।

दुर्गाकाे जाहेरी अनुसार प्रहरीले धनगढीस्थित कोठाको मुचुल्का गर्नुपर्नेमा कोहलपुरस्थित केटाको घरको बनाएर अदालतमा पेश गरेको छ। अदालतले साउन १५ गते थुनछेकको आदेश दिई महेशलाई कारागार पठाएको छ।

महेशका बुवाले जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै आदेश बदर गरी तारेखमा राखी पाउँ भन्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा निवेदन दर्ता गरेका छन्।

महेशका बुवा‍आमाले बुधबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर भनेका छन्, ‘धनगढी–१३, राजपुरस्थित कोठाको छतबाट बुहारी खसेको विषयलाई लिएर जाहेरीवाला र इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरीहरुले एक आपसमा मिलोमतो गरी झुठा बारदातस्थल देखाई हाम्रो निर्दोष छोरामाथि झुठा मुद्दाको सिर्जना गरी अन्यायपूर्ण व्यवहार गरेकाले हामी अन्यायमा परेका छौँ।’

दुर्गाको तर्फबाट वैवाहिक बलात्कारमा ५ वर्षसम्म र अङ्गभंगमा १० वर्षसम्म कैद सजाय, जरिवाना र क्षतिपूर्ति समेतको माग दावी गरिएको छ।

दुर्गा छतबाट खसेपछि महेशले से.ज. ९४६ नम्बरको हाइस गाडी दुई हजारमा रिजर्व गरी धनगढीस्थित निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टरमा पुर्‍याएका थिए। निसर्गमा प्राथमिक उपचार गरेपछि त्यही दिन, त्यही हाइस गाडीलाई ५ हजार ७ सय रुपैयाँ दिएर महेशले श्रीमतीलाई नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा ल्याएका थिए। अस्पतालले राखेको बिरामीको ठेगाना पनि धनगढी नै उल्लेख छ।

महेशका बुवाले ठूलो षड्यन्त्र गरेर छोरालाई फसाउने काम भएको बताए। छोराबुहारी घरमा एकपटक पनि नआएको अवस्थामा कोहलपुरको घरको छतबाट खसाएको मुचुल्का बनाइएको उनकाे आराेप छ।

प्रहरीले देखाएको सुत्ने कोठा र पलङको दिशा पनि मिलेको छैन। घटनाको साक्षी भनेर राखिएका तीन जना महेशको कोहलपुरस्थित घरबाट टाढाका मान्छे छन्। एकजना त केटीको अन्टी रहेकी छन्।

पहिलो श्रीमानसँग डिभोर्स गरेर बसेकी एक छाेरीकी आमा दुर्गासँग पैसा रहेको र महेश पढाईमा ट्यालेन्ट रहेकाले दुवै जना अष्ट्रेलिया जाने योजना बनाएर विवाह गरेको महेशका घरपरिवारले थाहा पाएका थिए।

श्रीमान् छोडेर बसेकी महिलालाई लिएर हिडेपछि बुवाले रिसाएर छोरासँग सम्बन्ध विच्छेद गरेका थिए। उनीहरुकाे फोनमा समेत कुरा हुँदैनथ्यो।

साउन २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्