भारत स्वतन्त्रताको ७३ औँ वर्ष, दिल्लीमा विशेष कार्यक्रम हुँदै

छिमेकी देश भारतले बिहीबार स्वतन्त्रता दिवस मनाइरहेको छ । भारत अंग्रेजको शासनबाट मुक्त भएको दिनको सम्झनामा हरेक वर्ष अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।

भारतले बिहीबार ७३ औँ स्वतन्त्रता दिवस (स्वतन्त्र भएको ७२ वर्ष पूरा भएर ७३ वर्ष लागेको छ) मनाउँदैछ र त्यसको अवसरमा राजधानी दिल्लीमा विशेष समारोह भइरहेको छ ।

स्वतन्त्रता दिवसको अवसरमा हुने विशेष कार्यक्रमका लागि दिल्लीमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत सन् १९४७ मा अंग्रेजको शासनबाट मुक्त भएको थियो । त्यसपछि नै आधुनिक भारतले स्वतन्त्र राष्ट्रका रुपमा काम गर्न थालेको थियो ।
केही महिनाअघि भएको चुनावमा भव्य बहुमतका साथ पुनः सत्तामा आएका नरेन्द्र मोदीको यो दोस्रो कार्यकालको पहिलो स्वतन्त्रता दिवस हो ।

अघिल्लो हप्ता मोदी सरकारले संविधानमा रहेको धारा ३७० निष्प्रभावी घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष दर्जा खारेज गरेको छ । यसको अधिकांश भारतीयले स्वागत गरेका छन् । तर पाकिस्तान तथा चीनले विरोध जनाएका छन् ।

साउन ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्