वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

काठमाडौँ – वरिष्ठ साहित्यकार, पत्रकार तथा फोटोग्राफर मदनमणि दीक्षितको निधन भएको छ।

विसं १९७९ फागुन ६ गते जन्मिएका मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको हो । उनले माधवी कृतिका लागि विसं २०३९ मा मदनपुरस्कार प्राप्त गरेका थिए । सोही वर्ष माधवीले साझा पुरस्कार पनि पाएको थियो ।

विज्ञापन

वरिष्ठ आख्यानकार दीक्षितले २०६८ मा पद्यश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए।

पत्रकारितामा लामो समय बिताएका उनले २०१९ सालमा रुपरेखामा कथा प्रकाशित गरेर साहित्य यात्राको थालनी गरेका थिए । उनका माधवी उपन्याससँगै चरैवेति, त्यो युग, हाम्रा ती दिनसहितका निबन्ध संग्रह प्रकाशित छन् ।

मदनमणि दीक्षित (फाइल तस्बिर)

मदनमणि दीक्षित शिक्षक पनि हुन् । उनले जीवनको सुरुवाति चरणमा अध्यापन गरेका थिए । उनले नेपाली साहित्यमा पुर्‍याएको योगदान र खिचेका ऐतिहासिक तस्बिरहरु सो कालखण्डका प्रमाण बनेर रहेका छन् ।

उनको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । नेपाली वाङ्गमय क्षेत्रमा उनको योगदानको स्मरण सदा भइरहने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

दीक्षितको बिहीबार बिहान कालिकास्थान स्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्त्यष्टि बिहीबार नै हुने जनाइएको छ ।

साउन ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू