पुरानो इनारलाई नयाँ भनेर रकम निकासा!

दाङ – राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा निवासी रामबहादुर यादवले एक वर्ष अघि घरको आगनमा कुवा खने । एक वर्षअघि खनिएको सोही पुरानो कुवा देखाएर नयाँ कुवाको रकम गाउँपालिकाले भुक्तानी गरेको रहस्य खुलेको छ ।

वडा अध्यक्ष रामछोरे यादव र उपभोक्ता समितिका अध्यक्ष हौसिल यादवको मिलोमतोमा पुरानो कुवा देखाएर नयाँ कुवाको रकम निकासा गरेको पाइएको हो ।

‘तपाईँलाई ढाटेर के नै हुन्छ र ? म साँचो कुरा भन्छु यो कुवा एक वर्षअघि खनिएको हो’ रामबहादुर यादवले भने, ‘त्यतिबेला दुईवटा कुवाको योजना छ भनेर मलाई ठेक्का दिए । बजेट ५० हजार छ भने । पोहरसाल दुईवटा कुवा खनँे तर, पैसा पाएन । जम्मा १० हजार दिए ।’

रामबहादुरले आफ्नो पुरानो कुवा देखाएर आफूलाई कूल १८ हजार रुपैयाँ मात्रै दिएको बताए । ‘न साइन गराए, न फोटो खिचे, कसरी निस्कियो पैसा थाहै भएन’ उनले भने ।

राजपुर गाउँपालिकाले वडा कार्यालय मार्फत खानेपानीका लागि कुवा निर्माण गर्ने योजना बनाएको थियो । वडा समितिको सिफारिसमा तीन उपभोक्ता समिति मार्फत कुवा बनाउने योजना सञ्चालन भएको हो । तर, त्यही उपभोक्ता समितिले कुवा निर्माणमा रकम हिनामिना गरेको समेत आरोप लागेको छ ।

कुवा निर्माण उपभोक्ता समितिका अध्यक्ष हौसिल यादवले वडा समितिको निर्णय अनुसार रामबहादुर यादव लगायत २६ जनाको घरमा कुवा निर्माण गरिएको दाबी गरे। ‘रामबहादुर यादवको पुरानो कुवा होइन, त्यो कुवा नयाँ हो’ यादवले भने, ‘भ्याट रकम कटाएर बचेको सबै रकम भुक्तानी गरिएको छ । आर्थिक अनियमितता भएको छैन ।’

उपभोक्ता समितिका अध्यक्ष हौसिलले रामबहादुरको घरमा निर्माण गरेको कुवा नयाँ भएको दाबी गरे पनि रामबहादुरले भने एक वर्ष अघि कुवा खनिएको रहस्य खोलेका छन् । यता वडा अध्यक्ष रामछोरे यादवले कुवाको विषय उपभोक्ता समितिका अध्यक्षको थाप्लोमा छोडेर पन्छन खोजे। ‘कुवाको विषय उपभोक्ता समितिका अध्यक्षलाई थाहा होला’ उनले भने, ‘के रहेछ अब बुझ्छु ।’

वडा नम्बर ३ मा निर्माण भएको कुवाको लागत मुल्यांकन गरिएको र एउटा कुवाको लागत २८ हजार १९ रुपैयाँ रहेको छ । यहि मुल्यको आधारमा उपभोक्ता समितिलाई रकम गाउँपालिकाले निकासा गरेको छ । योजनाको अनुगमन गरेर मात्रै भुक्तानी गर्ने परिपाटी छ । अनुगमन टोलीलाई समेत पुरानो कुवालाइ नयाँ भनेर प्रभाव पारेको हुन सक्ने स्थानीयले बताएका छन् ।

कुवा निर्माणमा आर्थिक अनियमितता रहेको भन्दै स्थानीयले राजपुर गाउँपालिकामा निवेदन दिएका छन् । रामप्रसाद यादवको अगुवाइमा गाउँलेहरुको हस्ताक्षर गराएर छानबिन गर्न र छलफल गराउन माग राख्दै निवेदन दिइएको हो । दुबै पक्षलाई छलफलमा राखेर निकास निकालिने न्यायीक समितिकी संयोजक तथा उपाध्यक्ष धनपती यादवले बताइन् ।

साउन ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू