कीर्तिमानी कोहली : १० वर्षमा २० हजार अन्तर्राष्ट्रिय रन

नयाँ दिल्ली- महान् खेलाडी सचिन तेन्दुलकरका धेरै कीर्तिमान तोडिसकेका र अझै धेरै कीर्तिमान तोड्ने बाटोमा देखिएका विराट कोहलीले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को कीर्तिमान सफलता हात पारेका छन् : १० वर्षमा २० हजार अन्तर्राष्ट्रिय रन बनाउन बनाउँदै।

१० वर्षमा यति धेरै रन यसअघि कुनैपनि ब्याट्सम्यानले बनाउन सकेको थिएन। वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम एकदिवशीय खेलमा कोहलीले बुधबार राति अविजित एक सय १४ रन बनाउँदै यो सफलता हात पारेका हुन्। यो खेल जित्दै भारतले तीन खेलको एकदिवशीय शृंखला २-० ले हात पार्‍यो।

कोहलीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४३ औँ सतक बनाएका हुन्। यो फर्म्याटमा सर्वाधिक सतक बनाउने कीर्तिमान सचिनको नाममा छ। सचिनले ४९ एकदिवशीय अन्तर्राष्ट्रिय सतक बनाएका छन्। कोहलीले लगातार दोस्रो एकदिवशीय सतक बनाएका हुन्।

१० वर्षमा सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने सूचीमा अस्ट्रेलियाका रिकी पोन्टिङ दोस्रोमा छन्। उनले १८ हजार ९ सय ६२ रन बनाएका छन्। दक्षिण अफ्रिकाका पूर्व अलराउन्डर ज्याक कालिसले १६ हजार ७ सय ७७, श्रीलंकाका पूर्व कप्तानहरु कुमार संगाकाराले १५ हजार ९ सय ९९ र माहेला जयाबर्द्धनेले १६ हजार तीन सय ४ रन बनाएका छन्। सचिन तेन्दुलकरको नाममा १५ हजार ९ सय ६२ रन रहेको छ।

कुनै एक टोलीविरुद्ध सर्वाधिक सतक बनाउने ब्याट्सम्यानका रुपमा सचिनको कीर्तिमान पनि कोहलीले बराबरी गरेका छन्। कोहलीले वेस्ट इन्डिजविरुद्ध ९ एकदिवशीय अन्तर्राष्ट्रिय सतक बनाएका हुन्। सचिनले यो सफलता अस्ट्रेलियाविरुद्ध हात पारेका थिए।

साउन ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्