राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस

काठमाडौँ –व्यापक दबाबपछि राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले त्यसको उपाध्यक्ष पद छनौटका लागि बल्ल विवादरहित तीन चिकित्सकको नाम सरकारलाई सिफारिस गरेको छ।

उपाध्यक्ष पदका लागि आवेदन दिएका ९ जना चिकित्सकहरुको प्रस्तुतीकरणपछि समितिले पहिलो नम्बरमा मानसिक रोग विशेषज्ञ डा. सुरेन्द्र शेरचन, दोस्रोमा इन्टरनल मेडिसिन विशेषज्ञ डा शम्बुकुमार पहारी र तेस्रोमा हाडजोर्नी विशेषज्ञ डा. श्रीकृष्ण गिरीको नाम छनौटका लागि मन्त्रीपरिषद्मा सिफारिस गरेको हो ।  उनीहरुको नाम बुधबारको समितिको बैठकले टुंगो लगाएको र मन्त्रीपरिषद् बैठकले त्यसको निर्णय छिट्टै गर्ने समितिका एक सदस्यले बताए।

गत वर्ष चैत ४ गते बसेको आयोगको पहिलो बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा आयोगकोे उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो।

मानसिक अस्पतालका पूर्वनिर्देशक डा शेरचनकै सक्रियतामा पाटन अस्पतालमा मानसिक रोगका विषयमा अध्यापन सुरु भएको थियो।

वीर अस्पतालमा लामो समय सेवा दिएका डा पहारीसँग लुम्बिनी र युनिभर्सल मेडिकल कलेजमा प्राध्यापनको अनुभव छ भने उनी सन्त नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा निजी चिकित्सक समेत बनेका थिए।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व रेक्टार डां गिरीले स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेलका पालामा स्वास्थ्य मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखाको प्रमुख भएर काम गरेका थिए। हाल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत उनले चिकित्सा शिक्षा ऐन अनुसार शुल्क निर्धारण समितिको सदस्यका रुपमा समेत काम गरेका छन्।

समितिले खुला प्रतिस्पर्धाबाट उपाध्यक्ष छनोट गर्न यही साउन १ देखि १५ गतेसम्म आवेदन मागेको थियो। त्यसअघि आवेदन हालेका ६ जना मध्ये कतिपय विवादस्पद पृष्ठभूमिका भएकाले व्यापक विरोध भएपछि आवेदन रद्ध गर्दै समितिले दोस्रो पटक आवेदन मागेको हो।

साउन ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्