मदनमणि दीक्षितलाई हार्दिक श्रद्धाञ्जलि

जो जीवनभरि नै विद्रोही बनिरहे

एउटा विद्रोही बालक। जमिन्दार परिवारमा जन्मिएर बा तथा हजुरबाले अरुलाई पैसा सापट दिएका प्रमाण तथा तमसुक जलाएर उनले आफ्नो ‘विद्रोही’ व्यक्तित्वको परिचय स्थापित गरेका थिए। उनलाई साथ दिएका थिए भाइ महेशमणि दीक्षितले।

९७ वर्षको लामो तर अन्तिम समयसम्म पनि सक्रिय जीवनमा मदनमणि दीक्षितको पहिचान त्यसैमा सीमित रहेन। यद्यपी जीवनभर यस अर्थमा विद्रोही रहिरहेका उनले ‘संस्थापन’ र ‘सत्ता’लाई सधैँ उत्तरदायी तथा जवाफदेही बनाउने कोशिस गरिरहे।

विज्ञापन

बनारस हिन्दु विश्वविद्यालयबाट स्नातकोत्तर गरी पीएचडी गर्ने क्रममा उनका ‘गाइड’ सर्वपल्ली राधाकृष्णन् भारतमा राष्ट्रिय दायित्वका साथ विदा भएपछि विद्रोही मदनमणि दीक्षित आफ्नो ससुरालीतर्फ लागे। यद्यपि ‘माडसाब्’ आजन्म उनको पदवी या स्थायी पहिचान बनिरह्यो।

‘म भोलि बिहान ९ बजे सबैलाई भेट्छु’, अघिल्लो दिन बेलुका उनले घरमा भने। तर राति नै स्वास फेर्न कठिन भएपछि घर नजिकैको हिमाल अस्पताल पुर्‍याइयो उनलाई। डाक्टरले मृत घोषित गरे। विहान ९ बजे ‘माडसाब्’ को पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली दिन आफन्त र उनका प्रशंसकहरु आउन थाले, कालिकास्थान निवासमा। तर त्यो उनले भनेको या चाहेको जस्तो सबैसँगको भेट थिएन।

एउटा व्यक्ति जीवनमा के–के हुन सक्छ? त्यो उसको रुचि, चाख, लगन, प्रतिवद्धता र मेहनतले निर्धारण गर्ने कुरा हो। तर ‘माड्साब्’ एक राजनीतिक विचार बोकेका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य, साहित्यकार, संस्कृतिविद्, इतिहासकार, गहन अनुसन्धानकर्तासँगै एउटा सचेत पत्रकार बने र उनका सबै पहिचान ‘अब्बल’ दर्जाका रहे।

मृत्यु सत्य हो। तर ‘जीवन भ्रम हो’ भन्ने मान्यतालाई चुनौती दिएर उनले सक्रिय जीवनबाट अवकाश लिए, संसारबाट विदा भई।

धर्मपत्नी, चारमध्ये तीन जीवित छोराहरु, एक छोरी र अनगिन्ती प्रशंसकहरुलाई छोडेर विदा भएका दीक्षितको रक्षाबन्धनकै दिन पशुपति आर्यघाटमा हिन्दु रीतिअनुसार अन्तिम संस्कार सम्पन्न गरियो। जेठा छोरा विनोद दीक्षितले मुखाग्नि दिएका थिए।

कम्युनिष्ट पार्टीको संस्थापक सदस्य रहे पनि सूचना, ज्ञान र विवेकको मार्गमा रहेका दीक्षितले अन्तत: दलीय बन्धनले ‘पूर्वाग्रह’बाट मुक्त हुन दिँदैन भन्ने सोचबाट होला, त्यसबाट बिराम लिए। कस्तो विडम्बना! खासगरी ०४६ यता पहिलेका ‘निर्दल’हरुले समेत दलको छडीको सहारा लिन थालेको अवस्थामा र अझ उनको दल नै सत्तामा आउने वेलामा उनले दलबाट मुक्ति लिए। पत्रकार दल र संस्थापनको मित्रतामा निसासिन्छ, निस्पक्ष बन्न सक्तैन भन्ने उनले बुझेका थिए।

‘समीक्षा’ साप्ताहिकले ‘प्रजातन्त्र’ को मिसन पत्रकारितामा पुर्‍याएको योगदान साँच्चै गौरवपूर्ण छ। सहयोगी भाइको स्वास्थ्यमा गिरावट, प्रतिकूल राजनीतिक अवस्था र श्रोत साधनको अभावमा पत्रिकाले निरन्तरता पाउन नसके पनि उने आफू र आफ्ना विचारलाई कुनै न कुनै मञ्चबाट अभिव्यक्त गरिरहे, ‘युग सम्वाद’ देखिपछि जन्मिएका राष्ट्रिय दैनिकहरु मार्फत।

समानान्तर या सँगसँगै शोध र साहित्य सिर्जनामा लागे। पूर्वीय दर्शनको अध्येताका लागि ‘माधवी’ र ‘भूमिसुक्त’ पस्के। ‘मेरी आमा’ लेखे।

मुटु र किड्नीको समस्याबाट ग्रस्त हुँदा पनि आफ्ना ‘कीर्ति र तात्कालिक राष्ट्रिय विषयमा ‘डिक्टेट’ गराइरहे उनले परिवारका सदस्यहरुलाई।

युवा पत्रकार, साहित्यकार र कविहरुलाई प्रोत्साहित गर्न उनीहरुको प्रयास र कीर्तिको प्रशंसा गर्न सधैँ अघि रहे उनी। मृत्यु सत्य हो। तर ‘जीवन भ्रम हो’ भन्ने मान्यतालाई चुनौती दिएर उनले सक्रिय जीवनबाट अवकाश लिए, संसारबाट विदा भई।

नेपालका यी दुर्लभ कोटीका नागरिकलाई श्रद्धाञ्जली।

साउन ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू