प्रेस पासका लागि सफ्टवेयरबाट आवेदन दिन सिकाउँदै सञ्‍चार रजिष्ट्रार कार्यालय

हेटौडा- सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश ३ ले बिहिबार हेटौडामा सञ्चार माध्यम व्यवस्थापन सूचना प्रणाली (सिएमआइएस) वेभ एप्लिकेसन सफ्टवेयर मार्फत पत्रकारहरुबाट निवेदन प्राप्त गर्ने प्रक्रियाका बारेमा मकवानपुरका पत्रकारहरुलाई सिकाएको छ।

पानीमा भिज्दा पनि नबिग्रने आधुनिक किसिमको पत्रकार परिचयपत्र प्राप्त गर्न सफटवेयरमा विवरण अपलोड गराउने बारेमा सिकाइएको हो।

विज्ञापन

साउन १६ गते पहिलो पटक काठमाडौमा स्वतन्त्र पत्रकार परिचयपत्र वितरण गरेर शुरु गरिएको वेभ एप्लिकेशनका बारेमा प्रदेशमा क्रियाशिल पत्रकारहरुलाई जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम राखिएको सञ्चार रजिष्ट्रारको कार्यालयले जनाएको छ।

कार्यक्रममा कार्यालयका अधिकृत सुरेन्द्र कार्कीले सफटवेयरमा आवेदन दिने बिधिका बारेमा जानकारी गराएका थिए भने पत्रकारहरुले जिज्ञासालाई सञ्चार रजिष्ट्रार रेवती सापकोटाले प्रष्टयाएका थिए।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कटेलले प्रदेश सरकार श्रमजीवी पत्रकारको पक्षमा रहेको र सञ्चार रजिष्ट्रारको कार्यालयले मापदण्ड पुगेका पत्रकारलाई मात्र स्वतन्त्र पत्रकार परिचयपत्र वितरण गरेको बताए।

संघीय सरकारले हालसम्म पनि प्रदेशलाई अभिलेख हस्तान्तरण नगरेको बताउँदै मन्त्री जम्कटेलले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चार संस्थाको नविकरणमा बिचार पुरयाउन सञ्चार रजिष्ट्रार कार्यालयको ध्यानाकर्षण गराए। प्रदेश ३ मा सञ्चार रजिष्ट्रारको कार्यालय मार्फत पत्रकारले संघीयताको अभ्यास गर्न पाएको बताए।

सञ्चार रजिष्ट्रार रेवती सापकोटाले सञ्चार रजिष्ट्रारको कार्यालयले जेष्ठ पत्रकारलाई पेन्सन, श्रमजीवी पत्रकार दुर्घटना, बिरामी वा दीर्घरोगी हुँदा सहयोग र महिला पत्रकारको क्षमता बृद्धिमा सहयोग गर्न कोष खडा गर्न लागिएको जानकारी गराए।

सञ्चार रजिष्ट्रारको कार्यालयबाट परिचयपत्र प्राप्त गर्ने प्रत्येक पत्रकारले एक सय रुपैया कोषका लागि योगदान गर्दै आएका छन । सञ्चार रजिष्ट्रारको कार्यालयले पनि सो कोषका लागि रकम बिनियोजन गर्ने तयारी गरिरहेको छ।

सञ्चार रजिष्ट्रार रेवती सापकोटाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन सञ्चार रजिष्ट्रारको कार्यालयले मिडिया सञ्चालक, श्रमजीवी पत्रकार र सरोकारवाला निकाय वीच छलफल गर्ने योजना पनि जानकारी गराए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष प्रताप बिष्टले प्रदेश ३ का पत्रकारले संघीयताको अभ्यास गर्न पाएको बताए । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा ध्यान पुरयाउन अध्यक्ष बिष्टले सञ्चार रजिष्ट्रारको कार्यालयको ध्यानाकर्षण पनि गराए।

नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाईले सञ्चार रजिष्ट्रारको कार्यालयले चालेका कदम प्रति खुसी व्यक्त गर्दै श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा प्रदेश सरकारले पनि काम गर्नु पर्ने बताए। पत्रकार गिरिजा अधिकारीले पत्रकारलाई सूचनाको पहुँचमा पुग्नबाट रोक्न नहुने र श्रमजीवी पत्रकार ऐन मिडिया सञ्चालक मार्फत कार्यान्वयनमा लैजानु पर्ने बताए।

मिडिया नविकरण वा अभिलेखीकरण हुन आउँदा नै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन मिडिया सञ्चालकलाई बाध्य बनाउनु पर्ने व्यवस्था गर्न आग्रह गर्दै पत्रकारलाई आफनो परिचयपत्र पाउने अधिकारबाट बन्चित नगराउन प्रदेश सरकार र सञ्चार रजिष्ट्रारको कार्यालयको ध्यानाकर्षण गराए।

गर्भनेन्स अटोमेसन सोलुसनले तयार गरेको सो सफटवेयरमा प्रदेश भित्र काम गर्ने पत्रकारहरुले आफनो ठाउँबाट अनलाइन मार्फत निवेदन दिन मिल्ने गरी निर्माण गरिएको छ। सफटवेयरमा पत्रकारहरुको व्यक्तिगत, शैक्षिक, तालिम, भ्रमण र अन्य विस्तृत बिवरण पनि राखिएको हुन्छ।

पत्रकारहरुले आफनो विवरण राखेपछि सञ्चार रजिष्ट्रारको कार्यालयले कागजात अध्ययन गरी स्वीकृत गरेपछि सफटवेयर मार्फत नै परिचयपत्र पिडिएफ फाइलमा तयार हुन्छ र छापिन्छ।

अंग्रेजी र नेपाली दुवै भाषामा रहेको परिचयपत्रमा राहदानी नम्बर, बाहकको मोबाइल नम्बर, रक्त समूह पनि उल्लेख गरिएको छ।‘प्रदेश भित्रका कुनै पनि जिल्लाबाट अनलाइनमार्फत आफनो निवेदन दर्ता गर्न मिल्ने प्रणाली विकास गरिएकोले पत्रकारहरु प्रदेशको राजधानी हेटौडा वा काठमाडौ शाखामा पुगिराख्नु पनि पर्दैन, आफू कार्यरत जिल्लाबाट आफनो विवरण अपडेट गराएपछि प्राप्तभएका कागजात अध्ययन गरिन्छ, परिचयपत्रलाई सम्बन्धित जिल्लामा पठाउने व्यवस्था मिलाइन्छ’ सञ्चार रजिष्ट्रार रेवती सापकोटाले भने।

साउन ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्