स्वास्थ्य केन्द्रबाट स्तरोन्नति भएको लमही अस्पतालकाे दुर्दशा

प्लेट सकिएपछि प्रयाेगमा नआएकाे एक्सरे मेसिन।

दाङ– प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नती भएर लमही अस्पताल बनेको हो। स्वास्थ्य केन्द्र हुँदा याे देउखुरीका स्थानीयको स्वास्थ्योपचार गर्ने मुख्य थलो थियो। अस्पताल हुँदा पनि स्वास्थ्य उपचारको लागि स्थानीयहरुको मुख्य गन्तव्य यही हो।

तर प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालको स्वरुप लिएपनि लमही अस्पतालले दिने सेवामा भने वृद्धि हुन सकेको छैन।

अस्पतालमा सामान्य प्राथमिक उपचार भएपनि हातखुट्टा भाँचिएका, ठूलो घाउचोट लागेका बिरामीको उपचारको सुविधा छैन। १५ शय्याको यो अस्पतालको व्यवस्थापन गर्ने जिम्मेवारी भने स्थानीय सरकारको हो।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले लमही अस्पतालबाट विशेषज्ञ सेवा सुरु हुने र त्यसका लागि जनशक्ति आइपुगेको बताए। उनले अब पूर्वाधार र औजारहरुको व्यवस्थापन गरेर शल्यक्रिया सेवा प्रदान गरिने जानकारी दिए।

‘हामी खुशी र उत्साहित छौँ। अब लमही अस्पतालले मुहार फेर्छ। यहीँबाट विशेषज्ञ सेवा सुरु हुन्छ’, उनले भने, ‘अस्पतालको सबै सेवाको स्तर बढ्छ। हामीले आवश्यक पर्ने सबै सामाग्री खरिद गर्दैछौँ।’

केमिकलकाे अभावमा प्रयाेगवहीन ल्यावकाे मेसिन।

लमही अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको रुपमा डाक्टर रमेश बस्नेत नियुक्त भएक छन्। लमही अस्पतालमा विशेषज्ञ डाक्टरको रुपमा रमेश बस्नेत र फिजिसियन डाक्टर बासुदेव सुवेदीको दरबन्दी कायम भएको हो।

विशेषज्ञ जनशक्तिको व्यवस्था भएपनि अस्पतालमा सेवा विस्तार गर्नका लागि पूर्वाधारको अभाव छ।

‘शल्यक्रिया सेवा सुरु गर्न सकिन्छ, तर तत्कालै होइन’, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बस्नेतले भने, ‘म्यानपावर चाहियो। म्यानपावरलाई तालिम चाहियो। सबै राम्रो भयो भने हाइड्रोशिल अप्रेसन सेवा १/२ महिनाबाट शुरु गर्न सकिन्छ। त्यसपछि बिस्तारै हर्निया, एपेन्डिक्स अप्रेसन सेवा दिन सकिन्छ।’

अस्पतालमा एक्सरे मेसिनको प्लेट सकिएको एक महिना भइसकेकाे छ। मेनुअल एक्सरे भएपनि सामान्य प्लेट नहुँदा डिजिटल एक्सरे सेवा उपलब्ध छैन। अस्पतालमा उपचारको लागि आउने बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता छ।

एक्सरेकाे सकिएका प्लेट।

अस्पतालको ल्यावमा केमिकलसमेत सकिएको छ। अस्पतालको ल्यावमा चाहिने केमिकल नहुँदा विभिन्न परिक्षणहरु गर्न असहज भएको भएको छ।

अस्पताललाई सरकारले डेढ वर्ष अगाडि हेमाटोलोजी अटोमेटिक व्लड काउन्ट मेसिन उपलब्ध गराएको थियो। यो मेसिनले रगत परिक्षण छिटो गर्न सकिने र रिपोर्ट निकाल्न सजिलो हुन्छ।

तर यो मेसिन अहिले प्रयोगमा आउन सकेको छैन। परम्परागत रुपमा रगत जाँच गर्नुपर्ने बाध्यता छ।

साउन ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्