आन्विकाले ल्याइन् बालबालिकाका लागि द्ई पुस्तक

आन्विका गिरीका दुई पुस्तक सार्वजनिक गर्दै चार बालिकाहरु।

काठमाडौँ – बालबालिकाहरुका लागि लक्षित गरेर नेपालीमा लेखिएका सीमित मात्रै पुस्तक प्रकाशित भइरहेका बेला आन्विका गिरीले १० वर्षभन्दा मुनि र पाँँच कक्षाभन्दा माथिका बालबालिकालाई लक्षित गरेर दुई पुस्तक लेखेकी छन्।

कवितात्मक शैलीमा लेखिएको ‘सानीका ज्ञानी कुरा’ मा बालबालिकालाई हुने यौन दुर्व्यवहारबारे बुझाउने प्रयास गरेको लेखक गिरीले बताएकी छन्। १० वर्षभन्दा मुनिका बालबालिकालाई लक्षित गरेर लेखिएको पुस्तक बालबालिकाआफैँले वा उनीहरुका अभिभावकले पढेर सुनाउन सक्ने उनले बताइन्।

आफूले पुस्तकमा कवितामार्फत यौन दुर्व्यहार त्यसमा पनि आफ्नै परिवारका सदस्यबाट हुनसक्ने घटनाहरुबारे बुझाउने प्रयास गरेको लेखकको भनाइ छ।

कविताहरुमार्फत आफूले सानानानीहरुलाई आफूमाथि कुनै पनि किसिमको गलत व्यवहार भएको जस्तो लागेमा आफ्नो विश्वासिलो व्यक्तिलाई भन्नु पर्छ भन्ने सन्देश दिन खोजेको लेखक गिरीले बताएकी छन्।

यस्तै ‘आमाले सक्नु हुन्छ’ भन्ने पुस्तक पाँच कक्षाभन्दा माथिका बालबालिकाका लागि रहेको उनले बताइन्। सातवटा कथा रहेको पुस्तकमा सबै कथामा माधवी नाम गरेकी बालिका र उनकी आमा पात्र छन्।

आफू लेखक र आमा पनि भएकाले बालबालिकालाई लक्षित गरेर पुस्तक सिर्जना गरेको गिरीले बताएकी छन्। बालबालिका लागि लेखिनुपर्ने धेरै भए पनि निकै कममात्रै पुस्तक लेखिएको जस्तो आफूलाई लाग्ने उनले उल्लेख गरेकी छन्।

दुवै पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो।

साउन ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्