आठौँपछि रंगशालामा पहिलो पटक फुटबलः हरियो बर्मुडामा घम्साघम्सी

नेपालगञ्ज – नेपालगञ्जमा जारी क्वीन्स कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा दीपज्योती विद्या निकेतन, डिगिया र भेरी विद्या मन्दिर, राँझा सेमिफाइनलमा पुगेका छन् । असार १३ गतेदेखि शुरु भएको क्वीन्स कप पानी परेपछि रोकिएको थियो ।

आठौं राष्ट्रिय खेलकुद भएपछि पहिलो पटक खुल्ला गरिएको नेपालगञ्ज रंगशालामा भएको शुक्रबारको खेलमा दीपज्योतीले ग्रिनपिस मावि, कोहलपुरलाई र भेरी विद्या मन्दिर, राँझाले युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्जलाई पराजित गर्‍यो ।

पहिलो खेलमा दीपज्योतीले ग्रिनपिसलाई ४–० गोलले पराजित ग¥यो । फुटबल प्रशिक्षक सानु तामाङका अनुसार, दीपज्योतीको तर्फबाट पूजा बुढाले ७, २७ र ३१ मिनेटमा गोल गरेर ह्याट्रिक गरिन् । अर्को एक गोल १५ मिनेटमा लक्ष्मी बस्नेतले थपिन् ।

अर्को खेलमा भेरी विद्याले युनाइटेडलाई ३–० गोलले पाखा लगायो । भेरीबाट शोभा थापाले १३, सुप्रिया थापाले २१ र रुक्मिना मगरले २८ मिनेट गोल गरे ।
सेमिफाइनलमा भेरीले अमर माविसँग खेल्नेछ । दीपज्योतीले साँझ हुने नेपालगञ्ज मोडेल र जनज्योती माविबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ । क्वीन्स कपमा छात्रको फाइनल खेलमात्रै बाँकी रहेको छ ।

क्वीन्स कपको शुरुवाती खेलहरु पुष्पलालचोकस्थित दंगा नियन्त्रण गण ब्यामशालामा भएको थियो । लगातार पानी परेपछि खेल रोकिएको थियो । आठौंपछि फुटबल खेल्न रोक लगाइएको नेपालगञ्ज रंगशालामा बाँकी खेलहरु सञ्चालनमा आएपछि खेलाडी तथा प्रशिक्षक उत्साहित भएका छन् ।

स्कूले खेलाडीले बर्मुडा दुबोले हरियो भएको अन्तर्राष्ट्रिय स्तरको रंगशालामा प्रतियोगिता खेल्न पाएका छन् । उनीहरु नेपालगञ्ज रंगशालामा फुटबल खेल्न पाउने पहिलो खेलाडी भएका छन् । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले पहिलो पटक रंगशालामा फुटबल प्रतियोगिता हुन दिएको छ । घाँस बिग्रिन्छ कि भनेर अहिलेसम्म रंगशालामा खेल्न रोक लगाइएको थियो ।

साउन ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्