रवि लामिछानेसहित तीनजनालाई हिरासतमा राख्न अदालतले दियो ५ दिनको म्याद

रवि लामिछानेसँग शालिकराम पुडासैनी। तस्बिर: शालिकराम पुडासैनीको फेसबुक।

काठमाडौँ- आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरे चितवन जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ।

एक दिनअघि काठमाडौंबाट पक्राउ गरिएका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन जिल्ला प्रहरीले शुक्रबार म्याद थपेर अनुसन्धानमा राख्न चितवन जिल्ला अदालत पेश गरेको थियो।

विज्ञापन

प्रहरीले तीनै जनालाई जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको थियो। डेढ साताअघि चितवनको एक होटलमा आत्महत्या गरेका सालिकराम पुडासैनीले मृत्युको बाटो रोज्नुअघि रेकर्ड गरेको भनिएको भिडियो दुई दिनअघि मात्र सार्वजनिक भएको थियो। पुडासैनीले भिडियोमा रवि, युवराज र अस्मिताले आफूलाई मर्न बाध्य परेको भन्दै उनीहरुलाई सजाय हुनुपर्ने बताएका थिए।

पुडासैनी, रवि र युवराजका पूर्व सहकर्मी हुन्। उनीहरु चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा सँगै काम गर्थे। पुडासैनीले दुई महिना अघि मात्र उक्त कार्यक्रम छाडेका थिए।

आरोप प्रमाणित भए तीनै जनालाई बढीमा पाँच वर्षसम्म कैद सजाय हुन सक्ने छ।

साउन ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्