देशमा विकासै-विकास ?!

हाम्रा पुर्खाले अनेक मुश्किलहरुको सामना गरेर भए पनि अप्ठ्यारो बाटो-घाटो हिँडेर हामीलाई यहाँसम्म ल्याउन सक्नुलाई अर्को पाटोबाट हेर्नुको साटो पहिले र अहिले उस्तै हो भनेर के लाटो कुरा गर्छ यो मान्छे? उहिले र अहिलेको हिँडडुल खास फरक छैन भनेर तर्क गरिरहने बद्रीलाई सुन्दरले सोध्यो।

‘के फरक छ र? सब उस्तै छ। तिमीहरु मेरो कुरा बुझ्दैनौ।’ चियाको एक घुड्को निल्दै बद्रीले भन्यो। ‘उहिले हाम्रा पुर्खा जहाँबाट जता जान परे पनि आफै लम्किनु वा अरुको बुइ चढेर चम्किनु बाहेक अरु उपाय थिएन।

विज्ञापन

अहिले यता हेर्‍यो सडक, उता हेर्‍यो सडक’ अझ नयाँ-नयाँ सडक बनाउनेहरुको तडक-भडक देखेर त अलिबर्षपछि देशैभरी सडक बाहेक केही नहोला भने जस्तो पनि देखिन्छ। तँ भने अहिले पनि पहिले जस्त हो भन्छस्। चिया खाएर पनि के जाँड खाए जस्तो कुरा गर्छस् यार ?! अलिकति चिया निलेर कप टेबुलमा राख्दा सुन्दरले भन्यो।

हाम्रो देशको भौगोलिक बनोटले गर्दा परापूर्वकाल देखिने हिँड्नको लागि आफै बाटो छनोट गरेर गन्तव्‍यमा पुगी बाटोको बारेमा अरुलाई समेत मन्तव्‍य दिने हाम्रा पुर्खाहरुको चलन भएको र अहिलेसम्म पनि त्यही अनुसार नगएको देखेर स्वर्गबासी पुर्खाहरुले पनि गर्वको अनुभूति गरिरहेका होलान्। फेरि पनि सुन्दरले नबुझ्‍ने गरी बद्रीले भन्यो।

‘बेसुरका कुरा गरेर बिहानदेखि मेरो दिमाग तताउनेका गाला फुट्ने गरी झापड दिएर मात्र आफ्नो कुरा बताउने मेरो बानी छ भन्‍ने पनि तैँले बेलैमा सोचे राम्रो होला है बद्री।’ अलि जिस्के जस्तो लागे पनि केही रिसाए जस्तो गरेर सुन्दरले भन्यो।

उहिले अहिले जस्तो सडक थिएनन्। जहाँ पनि हिँडेर जान पर्थ्यो। बाटोमा पर्ने भिर-पाखा, पहरा, साना-ठूला नदी खोलानाला बगर खहरे खोल्सा-खोल्सी,वन जंगल-धाप, साना-ठूला खाल्डा-खुल्डी, बाघ-भालु आदिजस्ता जंगली जनावरहरुको डर, चोर-डाँका लुटेराहरुको डर, खाना बास आदिको अभाव, बाटोमा ओखती मुलोको अभाव, खानको लागि सातु-सामलको साथ पिठो चामल बोकेर वा बोकाएर हिँड्न पर्ने आवश्यकता, महिला बालबालिका बुढा-बुढी आदिको सुरक्षाको समस्या, गन्तव्‍यमा पुगिसकेपछि पनि प्रयोग गर्ने, वितरण गर्ने र उपहार वा चाकडीमा लिन दिनपर्ने सामानहरु बोकेर पुर्‍याउन पर्ने झमेला आदि आदि कारणले उतिबेला कतजाँदा अलिकती मात्रा खुस्क्यो भने सिधयमपुरीको यात्रा हुने निश्चित जस्तहुन्थ्यो रे भन्ने हामीले उहिलेदेखि नजाने बुझेका कुरा हुन्।

‘अहिलेसम्म पनि त्यो परम्परालाई कायम राख्‍न र पुर्खाले बेहोर्दै आएको अनुभवलाई आफैले पनि चाख्‍न पाउँदा जनता ज्यादै खुसी छन्। आजसम्म पनि यसमा कुनै परिवर्तन नआउनु र आएकै भए पनि कसैले चाल नपाउनु एउटा अचम्मकै कुरा भएको छ। हाम्रो सोचाइमा परिवर्तन नआएको हो कि ‘माल पाएर पनि कसैले चाल नपाएको हो’ भन्ने कुरामा पनि मानिसहरु अन्योलमा परेका हुनाले जानेसम्म र भेटेसम्म सबैले यसलाई आफूखुसी व्‍याख्‍या गरेका छन्।’ फेरि उही पारामा उस्तै भनाइ राख्यो बद्रीले ।

तँ जस्तोलाई त यत्रो विकास निर्माण भएको पनि नदेख्‍ने र कहिल्यै पनि सकारात्मक कुरा नलेख्ने विरोधि मुर्खहरुको कोटीमा राखेर एकचोटी थर्काउने र आफ्नो लाइनतिर फर्काउने काम नगरे तेरो मोटो दिमागले यस्तै उल्टा-उल्टा कुरा सोचेर र त्यसबाट मेरो दिमागमा घोचेर हैरान पार्छस् भन्ने पक्का भइसक्यो।

भन्‍ने नै हो भने असारे विकास पनि बादशाहको नयाँ पोशाक जस्तै रहेछ।नेता र कर्मचारीहरुले देख्‍ने र बिल भर्पाइमा लेख्‍ने।जनताले चाहिँ नदेख्‍ने।अझ गाउँघरतिर त झन एउटा डोजर वा एक्जाभेटर लगेपछि एकै दिनमा भयंकर विकास गरिदिन्छ र जनताको मनमा अनेक खाले आशा भरिदिन्छ।

आज बिदाको दिन सारै बोर लागेकोले तँ चोरसित टाइम पास गर्ने योजनामा मेरो समय मात्रै नाश भयो। कपमा बाँकी भएको सबै चिया एकै घुट्कोमा निली सकेर लामो सास फेर्दै सुन्दरले भन्यो। नरिसान भाइ,कुरा यस्तत हुन् नि। रिसाएर हुँदैन सबैको भलो चिताउनु र यसै गरेर बिदाको समय बिताउनु राम्रो कुरो हो।

‘बिदा भयो भन्दैमा बिहानैदेखि तास खेलेर जाँड खाएर बस्नु र नचाहिँदो काममा बरालिएर हिँड्नु भन्दा यस्तै स्वस्थ छलफल गर्नु ज्यादै राम्रो हो नि।’ बद्रिले पनि चिया सिध्याएर कप भुइँमा राख्दै भन्यो।

‘त्यो त ठीक छ तर अलि कस्तो कस्तो बेसुरे कुरा गर्ने तेरो नानीदेखिको बानी देखेर मात्र मलाई कहिले काहिँ दिक्क लाग्छ। तेरो यो बानीमा चाहिँ सुधार ल्याउनपर्छ है। म त सानै देखिको साथी भएर चुपचाप सुने र तैँले जे बकवास गरे पनि मनमा गुनेर बस्छु त’,अरु भए तेरा कुरा सुन्‍नासाथ कान थुनेर हिँडेनन् भने म जे भन्‍न पनि सक्छु, बुझिस्।’ बद्रीले आफ्ना कुरामा सही थापे जस्तो गरेको देखेर हँसिलो अनुहार पार्दै सुन्दरले भन्यो।

यी दुवै एकै गाउँका।राजधानी पसेका र सँगबसेका धेरभएको छैन।प्राइभेट कम्पनीमा दुवै जागिरे छन्।खान बस्न र पढ्न घरबाट ल्याउन परेको छैन।यसमा दुवै खुसी छन्। बाहिरबाट आएका हुनाले त्यति साथीभाई पनि छैनन्। आफ्नै गाउँका साथी र नातेदारहरु राजधानीमा नभएका त होइनन्। तर कसैकहाँ पनि त्यति आउ-जाउ छैन।

राजधानीको वातावरणसित अझै घुलमिल हुन र समयलाई राम्ररी छुन नसकेको भनेर यिनीहरुसित पनि अरुले त्यति संगत गर्दैनन्। डेराको बसाइ र बिहान बेलुकाको छाक टार्नेसम्मको कमाइ भएकालाई राजधानीमा कसले खोजी गर्छ र? नातेदार र चिनेका मान्छेहरु ठूला-ठुला ठाउँमा भए पनि बाहिरबाट आएका र मुस्किलले दुई छाक खाएकालाई कसले वास्ता गर्छ र? तर यसमा यिनीहरुलाई पनि खास गुनासो छैन।

गाउँबाट सदरमुकाम आए, सदरमुकामबाट राजधानी आए, अब यहाँ केही समय गुजारा चलाउने अनि विदेश गएर डलर फलाउने र आफ्ना अगाडि फूर्ति गरेर हिँड्नेलाई सबै कुरामा तल पारेर ढलाउने यिनीहरुको विचार छ। हुन त अचेल यस्तो सुविचार नभएका युवा को र कहाँ होलान् र?

यसमा यिनीहरुलाई मात्रदोष दिएर रोष प्रकट गर्नु बेकार छ भन्ने सबैलाई राम्ररी थाहा छ।स्वदेशमा राजनीति बाहेक अरु पेशा वा ब्यवसाय केहि नभएकाले पनि पढेका,जाँगरिला,फुर्तिला,मेहनती,इमान्दार,नैतिक बल भएका युवाहरुलाई विदेश नगइ सुखै छैन।

‘नीति निर्माण तहमा भएकाहरु नै यस्ता इच्छुकहरुलाई विदेश पठाउने दलालीमा ज्यान फालेर लागेको हुनाले अनेक कदम चालेर विदेश जानेहरुको संख्या दिन-दिनै बढ्दै गएको र यसैबाट टाठा बाठाहरुको राम्रै आम्दानी भएको छ। अनि, तैँले के को आधारमा उहिलेदेखि अहिलेसम्म बाटो-घाटोमा कुनै परिवर्तन भएको छैन भनेर भनेको? ल मलाई बता तँ।’सुन्दरले सोध्यो।

धेरै ठाउँमा बाटाघाटा खनिए पुल पुलेसा बनिए।सबैतिर गाडी चले पनि र सबैतिर विकासको बत्ति बले पनि मलाई त कुनै परिवर्तन भएजस्तो लागेको छैन। पहिले पैदल हिँड्दा पनि भिर पहरा, खोला-नाला,अप्ठ्यारो बाटो आदिले त्यत्तिकै दु:ख दिन्थे र मान्छेको ज्यान लिन्थे।अहिले पनि त्यसमा कुनै कमी आएको मैले चाहिँ पाएको छैन।

‘सयौँ मिटर तल गाडी खस्ने र त्यसमा बस्ने निर्दोष यात्रीहरुको ज्यान जाने गरेको समाचारहरु हप्तैपिच्छे सुन्‍न परेको हुनाले पनि मलाई त्यस्तो लागेको हुन सक्छ। सडकै त्यस्तो हो कि गाडी त्यस्ता हुन् कि ,चलाउने चालकहरु त्यस्ता हुन् ! सडक बनाउने प्राविधिक र कर्मचारीहरु त्यस्ता हुन् की यात्रुहरु त्यस्ता हुन् कि अहिलेसम्म कसैले केही बुझ्‍न नसक्नु झनै रहस्यको बिषय बन्‍न गएको देख्दा मलाई त अचम्म लाग्छ।’ बद्रीले भन्यो।

मेरो विचारमा यसमा आश्चर्य मान्‍न र चाहिने भन्दा बढी जान्‍न आवश्यक नै छैन। एउटा चिजले मात्र होइन यसमा तैँले भनेका सबै चिजको उत्तिकै योगदान छ। कुनैको पनि घटी वा बढी छैन।त्यही भएर पनि पहिले-पहिले पैदल हिँड्दा भन्दा दुर्घटनामा मर्ने र समय नै नभइ यो भवसागरबाट पार तर्नेहरुको संख्या पनि धेरै गुणा बढेको छ।

तर यसमा कसैलाई पनि केही मतलब भएजस्तो चाहिँ देखिँदैन।दुर्घटना भएको दिन दौडधुप गर्‍यो,भाग्यले कोही जिउँदै रहेछन भने झुन्ड्याएर, मुन्ट्याएर, दौडाएर, बोकाएर, गाडी चढाएर, हेलिकोप्टर चढाएर आदि जे-जे सकिन्छ त्यो गर्‍यो र नजिक टाढा जहाँ सकिन्छ त्यहाँको अस्पतालमा पुर्‍यो।सकेसम्म उपचार गराउने प्रयास गर्‍यो।

यो एकै दिनमा हुने ज्यादै सकारात्मक काम हो।उद्धार गरेको,अस्पताल लाँदै गरेको,आफू भेट्न गएको सेल्फी मजाले लियो र सबैलाई देखाउनको लागि फेसबुकमा दियो। दुर्भाग्यवश ! दिवंगत हुनेहरुलाई सकिन्छ भने घाटमा अन्त्यष्टि गर्दा गर्दै र नसके किरिया बसेको ठाउँमा पुगेर समवेदना दिँदै गरेको सेल्फी जोडका साथ फेसबुकमा अपलोड गर्ने चलन खुबै राम्रो सित फस्टाएको छ।

‘यस्ता कार्यहरुमा नजिकका नातेदार भन्दा पनि साथीभाई र त्यस क्षेत्रका माननीयहरुका साथै युवा नेताहरुको बढी होड बाजी चलेको देखिन्छ।यो खालको मानवीय समवेदना सबैमा हुनु र फेसबुकमार्फत देखिनु ज्यादै राम्रो कुरा हो।’अलि खिन्‍न भए जस्तो गरेर सुन्दरले भन्यो।

‘त्यस्तो खाले समवेदना देखिने त्यही एक दिन मात्रै त हो नि।भोलिपल्ट सबैले बिर्सि सक्छन्।’बद्रीले पनि त्यसमा थप्यो। बिर्सिने नै त भए नि।एउटा दुर्घटनाको समवेदना दिएको दिन बित‍न पाएको हुँदैन त्यो भन्दा पनि चर्को किसिमले अर्को दुर्घटना भइसक्छ।त्यसपछि पुरानोलाई त सबैले बिर्सिने भइहाले नि।’ सुन्दरले भन्यो।

मैले पहिले नभनेको पैदल यात्रा गर्दा हिँड्ने बाटो र हाम्रा अहिलेका सडकहरुमा खास फरक छैन भनेर मैले अघिदेखि भनिरहेको त्यसहो त?’ बद्रीको भनाइ थियो।यो कारणले भनेको हो भने त तैँले भनेको ठिकहो कि जस्तो लाग्यो मलाई पनि।सुन्दरले पनि बद्रीको कुरा बुझे जस्तो गरेर भन्यो।

‘बल्ल तेरो घैँटोमा पनि घाम लाग्न खोजेजस्तो देखिएकोमा खुसी लाग्यो।हँसिलो अनुहार पार्दै बद्रीले भन्यो।ल बद्रि,मलाई अझ प्रष्ट पार्दे त।’फेरि सुन्दरले भन्यो।

अहिलेका राजमार्ग हुन की लोकमार्गहरुमा हिँड्दा वा गुड्दा पिच गरेको दुई तीन महिनापछि नसडक भत्केर पिच गर्नुभन्दा अगाडिकै अवस्थामा पुगेपछि खल्ड्याङ्ग-खुल्डुङ्ग बाटोमा हिँडेको अनुभव बटुल्न पाइहालियो।हरेक पचास मिटरको दूरीमा बनेका ठूल्‍ठूला खाल्डाहरुले गर्दा साना ठूलाजस्ता गाडि चढेपनि पहिले पहिले डुंगा चढेर नदी तरेको र त्यसको छाल देखेर दंग परेको अनुभव गर्न पाइहालियो।

राजधानी र अन्य शहरी क्षेत्रमा वर्षायाममा जलमग्न हुने सडकमा यात्रा गर्दा बिना टिकट स्टिमर वा सानाखाले पानी जहाजको आनन्द उठाउन पाइहालियो।वर्षाको समयमा हिलो बाटो वा खेतबारी देख्दा अचम्म मान्ने हामीलाई त्यसको प्रत्यक्ष अनुभव दिलाउन मानिस ओर्लेर धकेल्दा पनि गाडी वा मोटर साइकल गुडाउन नसकिने हिलोको अनुभव गर्दा हामीलाई प्रकृतिसित साक्षात्कार गराउनुको साथै जाम भइसकेका हाम्रा शरीरका मसलहरुलाई पुर्नताजगी गराउने व्‍यवस्था समेत गरीएको छ।

त्यसैगरी हिउँद लागेपछि धुलो उडेर यात्रुहरुलाई मरुभूमिको प्रत्यक्ष अनुभव दिलाउने व्‍यवस्था गरिएको छ।यतिसम्म दूरदर्शी योजना भएपछि पहिलेका मान्छे र अहिलेका मान्छेको यात्रामा तात्विक रुपमा के भिन्‍नता भयो त? बद्रीले प्रष्ट पार्ने प्रयास गर्यो।बुझे जस्तो पनि र नबुझे जस्तो पनि गर्यो सुन्दरले।

‘अनि यतिनहो त ?’ सोध्यो सुन्दरले ।

सबै तिरका सडकहरुमा ज्यानमारा मोड, ज्यानमारा खाल्डा-खुल्डी, ज्यानमारा भिर, ज्यानमारा उकालो-ओरालो आदि त बनाइएकै छन्।त्यस्ताको कुनै कमी छैन।त्यसमाथि कुनै-कुनै ठाउँ छोडेर झन्डै नब्बे प्रतिशतभन्दा बढी ठाउँहरुमा कुनै जनाउ वा संकेतका बोर्डहरुको आवश्यकता नभएर नै राखिएको त होला नि।

राजधानीलगायत कतैका सडकमा पनि ट्रफिक लाइटको आवश्यकता नपर्ने यहाँ मात्रै होला।कतै कतै खम्बा र नबल्ने हो कि नबाल्ने बत्तीहरु नमुनाको लागि राखिएको देखेर मात्र बाटोमा हिँड्ने र गुड्नेहरुले ट्रफिक लाइट भन्‍ने वस्तु यस्तो हुँदो रहेछ भनेर बुझ्‍ने मौका पाओस भनेर मात्रै राखिएका हुन रे भन्‍ने विशेष सूत्रबाट सबैलाई थाहा भइसकेको छ।

करोडौँदेखि अरबौँसम्म खर्च गरेर बनाइएका कुनै कुनै ज्यादै महत्वपूर्ण पुलहरु की बन्दा बन्दै कि बनिसकेपछि भाँचिने वा काम लिन नसकिने किसिमका भएपनि त्यसलाई जाँचिने कहाँबाट होला भनेर मानिसहरु अल्मलिएका छन्।

यस्ता बाटो,पुल, ठूला परियोजना आदि बनाउने ठेकेदार भनेर जनताले चिनेको मान्छे कता कसले के किनेको आधारमा हो हेर्दाहेर्दमन्त्रि भइसकेको देखिन्छ।देशका स्वघोषित ठूला-ठूला नेताहरुले यिनीहरुकै घरमा गएर छाक टार्ने र यिनीहरुकै घरमा शरण लिएर नाक ठूलो पार्ने गरेको देखिएकै छ।त्यही भएर ठूला नेता र ठेकेदारहरुमा वास्तबिक ठूलो को हो भन्‍नेमा जनताहरु दोधारमा परेका छन।’ बद्रीले भन्यो।

सडकलाई विकासको पूर्वाधार हो भनेर सबैले भनेका छन र त्यहि हिसाबले सडक पनि बनेका छन्।अझ असार महिनामा त सबैभन्दा बढि सडक खन्ने र त्यसलाई चाहिने थप चिजहरु पनि बन्ने गरेर विकासको मूल फुटाउने गरेको देखिन्छ।यो हिसाबले हेर्दा त हामि पुरानो जमानामा छैनौँ नि भाइ।सुन्दरले भन्यो।

तैँले ठिक कुरा निकालिस्।यो असार महिनामा जस्तो विकास र भएभरको सरकारी बजेटको निकास त अरु कुनै महिनामा पनि हुँदैन रे भन्‍ने सुनिन्छ।देशमा भएका विकास सम्बन्धि सबै तल्ला माथिल्ला कार्यालय र साना ठूला सबै कर्मचारीहरु अरु सबै कुराहरु छोडेर र भएभरका शक्ति जोडेर विकास कार्यम व्‍यस्त भएर गरेको विकासलाई असार साउनको झरीले अस्तव्‍यस्त पारि दिने हुनाले मात्रै राम्ररी नदेखिएको हो।

भन्‍ने नै हो भने असारे विकास पनि बादशाहको नयाँ पोशाक जस्तै रहेछ।नेता र कर्मचारीहरुले देख्‍ने र बिल भर्पाइमा लेख्‍ने।जनताले चाहिँ नदेख्‍ने।अझ गाउँघरतिर त झन एउटा डोजर वा एक्जाभेटर लगेपछि एकै दिनमा भयंकर विकास गरिदिन्छ र जनताको मनमा अनेक खाले आशा भरिदिन्छ।

अन्यत्र डोजर खोज्न जाँदा अनावश्यक रुपमा समय नष्ट भएर जनतालाई कष्ट पर्ला भनेर गाउँको विकास गर्ने पवित्र उद्देश्यले जनप्रतिनिधिहरुले आफैंले व्‍यक्तिगत रुपमा डोजर र अन्य साधनहरु खरिद गरेर राखिदिएका छन्।

यस्ता असारे सडकहरुमा वर्षैभरि दुर्घटना भएर असंख्य मानिसहरुले ज्यान गुमाए पनि विकासको ग्राफ माथि-माथि चढेकै छ र जनप्रतिनिधिहरुको भूँडीको साइज बढेकै छ।सबैतिर विकास-विकास छ भनेर बद्रि रोकियो, सुन्दर चाहिँ उठेर हिँड्यो।

साउन ३१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्