जम्मू–कश्मीर तनाव

जम्मू–कश्मीरबारे राष्ट्रसंघीय सुरक्षा परिषदको छलफलमा के भयो?

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको शुक्रबार बसेको बैठकमा भारत प्रशासित जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० सरकारले निष्प्रभावी बनाएपछिको अवस्था बारे छलफल भएको छ ।

अनौपचारिक बैठकमा कश्मीरका विषयमा छलफल भएको जनाइएको छ । पाकिस्तानले भारतीय कदमको विरोध गर्दै सुरक्षा परिषदलाई चिट्ठी लेखेपछि यो अनौपचारिक बैठक भएको हो ।

बैठकमा भएको छलफलका बारेमा स्पष्ट जानकारी या औपचारिक जानकारी आएको छैन । तर बैठकपछि भारत, चीन र पाकिस्तानका राजदूतहरुले पत्रकारसँग कुरा गरे ।

संयुक्त राष्ट्रसंघमा भारतीय राजदूत सैयद अबबरुद्दीनले धारा ३७० सम्बन्धी विषय आन्तरिक मुद्दा रहेको र यसमा बाहिरका देशको कुनै सम्बन्ध नरहेको बताए । भारतले हालै गरेको निर्णय जम्मू–कश्मीरको आर्थिक तथा सामाजिक विकासका लागि रहेको उनले बताए ।

जम्मू–कश्मीरको अवस्था सुधारका लागि केही निर्णय भएको उनले बताए । उनले पाकिस्तानले हिंसाको कुरा गरिरहेको आरोप लगाएका छन् । पाकिस्तानले भारतसँग कुरा गर्ने भए त्यसका लागि आतंकवाद रोक्नु पर्ने उनले बताए ।

सुरक्षा परिषदले यो विषयमा दुई देशले वार्ता गरेर मिलाउनु पर्ने विचार दिएको बताइएको छ । तर चीनले भने यो विषयलाई संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुसार नै समाधान गर्नु पर्ने बताएको छ । कश्मीरको अवस्था निकै नाजुक र खतरनाक हुने हुने देखिएको चीनको भनाई छ ।

बैठकमा चीनका राजदूत झाङ्ग जुनले कश्मीरमा मानवअधिकारको अवस्था नाजुक हुन सक्ने तर्फ सचेत गराउँदै गम्भीर चिन्ता व्यक्त गरे । चीनले लद्दाखको विषय उठाएको थियो ।

पाकिस्तानले भने आफूले कश्मीरको विषय अन्तर्राष्ट्रियकरण गरेको बताएको छ । पाकिस्तानका राजदूत मलीहा लोधीले सुरक्षा परिषदमा यो विषय उठे पछि जम्मू–कश्मीर मामिला भारतको आन्तरिक विषय होइन भन्ने स्पष्ट भएको बताए ।

साउन ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्