धर्म प्रचार गर्ने तीन युवतीसहित चारजना पक्राउ

सांकेतिक तस्बिर।

सल्यान – धर्म प्रचार गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इसाई धर्म प्रचार गर्दै हिँडिरहेको अवस्थामा तीन महिला र एक पुरुषलाई शारदा नगरपालिका–१ शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ वेलुवा निवासी तुलबहादुर परियार, सोही ठाउँका रूपा सोनाम, घोराही–१५ निवासी चन्द्रकली रावत र रोल्पा नगरपालिका–६ का भीमकुमारी विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरूका साथबाट चार थान बाइवल, इसाई धर्म प्रचारसम्बन्धी अन्य सामग्री बरामद गरेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

पक्राउ परेका चारैलाई जबरर्जस्ती धर्म परिवर्तन सम्बन्धी मुद्दा चलाइने र यसका लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रचलित कानूनअनुसार जबरर्जस्ती धर्म परिवर्तन गराएमा कम्तीमा पाँच वर्षसम्म जेल र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

साउन ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्