पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थाल्योः प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन् ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले काठमाडौँमा गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको बताए ।

नेकपाको सचिवालय बैंठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको स्पष्ट पारे ।

कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौति दुवै भएको भन्दै उनले अहिले केहि गर्न नसके इतिहासले धिकार्ने बताए ।

अध्यक्ष दाहालले यस्तो अवसर सधै नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

यस्तै अध्यक्ष दाहालले चिकित्सकहरुले आफ्नो पेशालाई मानवता सँग जोडेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

पेशा सुरक्षित, लोकप्रिय र मर्यायादित बनाउन सरकारले सहयोग गर्ने भन्दै चिकित्सकले पनि बिरामीलाई बस्तु नठानी मानवीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताए ।

अध्यक्ष दहालले विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौति रहेको पनि बताए ।

कार्यक्रममा नकेपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य सेवा सर्वसुलभ हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी चिकित्सकहरुले भने गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेशा आवश्यक रहेको भन्दै सरकारी नीति प्रष्ट हुनु पर्ने माग गरेका थिए ।

साउन ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्