पेस्तोल र गोलीसहित नागढुंगाबाट एक जना पक्राउ

साङ्केतिक तस्बिर

काठमाडौँ– काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सुरक्षा जाँच चौकीबाट हतियार र गोलीसहित शनिबार एक जना पक्राउ परेका छन्।

ललितपुरका २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई स्वचालित पेस्तोल दुई थान र गोली २० राउण्डसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

विज्ञापन

धादिङबाट काठमाडौँ आउँदै गरेको बा २ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोलामा पेस्तोल र गोली फेला परेको हो।

लामाको साथबाट बाइनाकुलर र पाँच मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक कारवाही तथा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ ल्याइएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।

साउन ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्