बालकको बली चढाउन ‘उक्साएको’ आरोपमा झाँक्री पक्राउ

साङ्केतिक तस्बिर

जनकपुरधाम– शक्तिशाली बन्न बालकलाई बली चढाउन दुरुत्साहन गर्ने एक जना झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले धनुषा जिल्लाको मिथिला नगरपालिका ६ का शम्भु साहका अढाई वर्षीया छोराको बली प्रकरणमा थप एकजना झाँक्रीलाई पक्राउ गरेको हो।

विज्ञापन

यस प्रकरणमा मुछिएपछि फरार रहेका मिथिला नगरपालिका वडा नं. ७ का ५५ वर्षिय झाँक्री जंगबिर महतोलाई बिहीबार पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

यसभन्दा पहिला अन्धविश्वासको कारण अढाई वर्षीय बालकलाई निर्ममतापूर्वक हत्या गरेको झाँक्रीलाई प्रहरीले समात्न ६५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरे पश्चात धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ६ का ५५ वर्षिय शत्रुधन महतोलाई समात्न सफल भएको थियो।

के थियो घटना? 


गत वैशाख २३ गते साँझ करिब ५ बजे धनुषाको मिथिला नगरपालिका वडा नं. ६ बस्ने शम्भु कुमारको छोरा साढे दुई वर्षको आर्यन भन्ने समिर कुमार साह हराएकाे खबर आयाे। खोजतलाश गर्दा पनि उनलाई भेटाउन सकिएन।

त्यसको अर्को दिन बिहान करिब ६ बजेको समयमा पीडित परिवारको घरबारी नजिकै कृष्णनन्दन महतोको खेतको झाडीमा धारिलो हतियारले धाँटी रेटेर हत्या गरेकाे अवस्थामा बालकको शव फेला पर्‍याे।

शव फेला परेको खबर पाउना साथ ईलाका प्रहरी कार्यालय ढल्केवर, जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी ईकाई कार्यलय जनकपुर र २ नं. प्रदेश प्रहरीबाट खटेको टोलीले ३ नं. प्रदेश प्रहरी कार्यालय हेटौडासँग समन्वय गरी विशेषज्ञ कुकुरको टोली मगाई अनुसन्धान पश्चात आरोपी महतोलाई जेष्ठ १५ गते पक्राउ गर्न सफल भयाे।

बालककाे बली चढाउने धामीले धामीझाँक्रीको नाममा बली दिएपछि शक्तिशाली हुने अन्धविश्वासमा परी वैशाख २३ गते साँझ बालककी आमा रेनुदेवी घाँस काट्न गएको बेला घरमा कोही नभएको मौका छोपी झाँक्री शत्रुघन महतोले बालकलाई ललाईफकाई आफ्नै घरको दरको दैलोबाट अपहरण गरेका थिए।

त्यसै राति झाक्री महतोले बालकलाई लुकाएर राखेको र राति २ बजे सिद्धि प्राप्त हुने अन्धविश्वासमा आफ्नै आँगनमा धारिलो हतियार प्रहार गरी देवीदेउताको नाममा बालकको घाँटी रेटेर बली दिएका थिए।

बली पश्चात बालकलाई स्थानीय कृष्णानन्दको खेलकाे झाडिमा बालकको शवलाई फालेका थिए।

साउन ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्