कुखुरा तस्करी गराइदिन भन्दै प्रहरीलाई घुस दिन खाेज्ने तीन जना पक्राउ 

वीरगञ्ज– भारतबाट तस्करी गर्नका लागि सघाउन भन्दै प्रहरीलाई घुस दिन खाेज्ने तीन जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीलाई घुस दिन खोज्ने बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ बस्ने ४५ वर्षीय शम्भु प्रसाद साह, वडा नं.६ बस्ने २६ वर्षीय मुरारी कुशवाहा र कलैया उपमहानगरपालिका वडा नं.१६ बस्ने २४ वर्षीय छोटेलाल पटेललाई प्रहरीले पक्राउ गरेको हो।

विज्ञापन

बिश्रामपुर गाउँपालिका वडा नं. १ छतवामा रहेको सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलीलाई उनीहरु तीनै जनाले भारतबाट कुखुराको तस्करी गराई दिन भन्दै घुस दिन खोजेका थिए।सो क्रममा उनीहरुले प्रहरी टोलीलाई २६ हजार रुपैयाँ घुस दिन खोजेका थिए।

प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरु तीनै जनाले हामी जसरी पनि अर्को एरियाबाट काम गर्छौँ  भनेर प्रहरीलाई चुनाैति दिएपछि पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सानुराम भटराईले जानकारी दिए।

पक्राउ परेका तीनैजनालई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक भटराईले बताए। यसअघि पनि प्रहरीलाई घुस दिन खोज्ने कुखुरा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको थियो।

साउन ३२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्