विवाह समारोह भइरहेका बेला आत्मघाती बम बिस्फोट

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक विवाह हलमा बिस्फोट भएको छ । घटनामा धेरैको ज्यान गएको आशंका गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन ।

घटनामा कम्तिमा २० जना घाइते भएको र उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

वैवाहिक समारोह भइरहेका बेला आत्मघाती आक्रमणकारीले आफैलाई बिस्फोट गराएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रत्यक्षदर्शीले घटनास्थलमा आफूले शवहरु देखेको बताएका छन् ।

शिया मुसलमान बाहुल्य क्षेत्रको विवाह हलमा बिस्फोट भएको हो । घटना स्थानीय समय अनुसार शनिबार राति १० बजेर ४० मिनेट जाँदा (नेपाली समय अनुसार राति ११ बजेर ५५ मिनेट जाँदा) भएको जनाइएको छ ।

काबुलको पश्चिमी क्षेत्रमा भएको सो आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । सुन्नी मुस्लिम लडाकु समूह, तालिबान तथा इस्लामिक स्टेटसहितले पछिल्लो समय अफगानिस्तान तथा पाकिस्तानमा रहेका शिया हाजारा अल्पसंख्यकमाथि निशाना बनाउने गरेका छन् ।

१० दिनअघि काबुलमा रहेको प्रहरी चौकीको बाहिरी क्षेत्रमा बिस्फोट हुँदा कम्तिमा १४ जनाको ज्यान गएको थियो भने झण्डै १५० जना घाइते भएका थिए । सो आक्रमण आफूले गरेको तालिबानले बताएको थियो ।

शुक्रबार तालिबान नेताक हिबातुल्लाह हखुन्द्जादका भाइको हत्या भएको थियो पाकिस्तानको क्वेटा शहरमा । सो आक्रमणको पनि कसैले जिम्मा लिएको छैन ।

तस्बिर : इपिए

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्