नेइमारको भविष्य अन्यौल, पिएसजीको टिमबाट अझै बाहिर

नयाँ सिजनमा लिग फुटबलको दोस्रो हप्ता सुरु हुनै लाग्दा पनि नेइमारको भविष्यबारेको अन्यौल हट्न सकेको छैन । फ्रान्सेली क्लब पिएसजी छोड्न चाहेका नेइमारलाई क्लबले लिग खेलका लागि टिममा राखेको छैन ।

सिजनको पहिलो खेलमा टिम बाहिर रहेका नेइमारलाई दोस्रो हप्ताको खेलमा पनि टिम बाहिर राखिएको छ । पिएसजीले निमेसलाई पराजित गरेर लिग वानमा विजयी सुरुवात गर्दा पनि नेइमार टिममा थिएनन् ।

आइतबार राति रेनेससँग हुने खेलमा नेइमार टिममा नहुने प्रशिक्षक थोसम टुसिलले बताएका छन् । नेइमारको भविष्य अझै अनिश्चित रहेको बताएका टुसिलले उनी विश्वको उत्कृष्ट र महत्वपूर्ण खेलाडी रहेको भने बताए ।

बलियो पिएसजीको कल्पना गर्दा नेइमार त्यसमा जसरी पनि रहनु पर्ने उनले बताए । नेइमार पिएसजी छोडेर बार्सिलोना फर्किन चाहन्छन् । तर बार्सिलोनाले गरेको प्रस्ताव पिएसजीले अस्वीकार गरेको छ ।

नयाँ प्रस्तावका लागि काम भइरहेको जनाइए पनि अझैसम्म भएको छैन । यस्तै नेइमारमा चासो देखाएको रियल मड्रिडको प्रस्ताव पनि पिएसजीले अस्वीकार गरिसकेको छ ।

नेइमार दुई वर्षअघि विश्वकीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी आएका हुन् । उनले दुई सिजनमा पिएसजीबाट लिगमा ३४ गोल गरेका छन्, दुवै सिजनमा उनी चोटका कारण प्रभावित भएका थिए ।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्