चट्याङ लागेर एकैपटक ६१ भेडा मरे, १० लाख बराबरको क्षति

सांकेतिक तस्बिर।

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु १० लाख मूल्य बराबरको क्षति पुगेको छ । शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् ।

करीब रु १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहेका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिए । सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन् । लालवीर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन् ।

एक वटा भेडाको मूल्य रु १५ हजारदेखि रु २५ हजार छ । सबै कृषकका भेडालाई गोठालाले एउटै खर्कमा राखेका थिए । घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ ।

पाउद्वार गाउँदेखि खयर पुग्न करीब १२ घण्टा उकालो हिँड्नुपर्छ । पीडित कृषकले क्षतिपूर्ति र घुम्ती गोठमा पालिने भेडाबाख्राको पनि बीमा सुविधा हुनुपर्ने माग गरेका छन् ।

भदौ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्